Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकामा ममता बेपत्ता प्रकरण : १० महिने छोरीको जिम्मा प्रहरीले लियो

शुक्रबार, भदौ ७, २०८१

भर्जिनिया (अमेरिका)– अमेरिका बस्दै आएकी एकजना नेपाली युवती गत साउन १६ गतेदेखि गायब भएपछि उनका पतिलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

अमेरिकाको भर्जिनियाबाट गत साउन १६ गतेदेखि २८ वर्षीया ममता काफ्ले अचानक गायब भएपछि उनका परिवार र प्रवासी नेपाली समुदाय चिन्तामा परेको अवस्थामा पति नरेश भट्टलाई प्रहरीले बिहीबार घरबाटै पक्राउ गरेको हो ।


ममता बेपत्ता भएको प्रकरणमा उनका पति नरेशलाई मुख्य अभियुक्त मान्दै पक्राउ गरेको प्रहरीले उनीहरूकी १० महिने छोरीलाई पनि आफैंसँग लगेको छ ।

२३ दिन बितिसक्दा पनि ममताको अवस्था पत्ता लाग्न सकेको छैन । नर्सका रुपमा अमेरिकामा कार्यरत ममताले घरबाट निस्किनुअघि १० महिने छोरीलाई छाडेकी थिइन् ।


भर्जिनियास्थित मनाससबाट १९ दिनअघि बेपत्ता काफ्लेको खोजीमा अमेरिकी प्रहरीले सबै प्रयास गरिरहेको छ । सामाजिक सञ्जालको प्रयोगदेखि भौतिक रुपमा पनि खोजी अभियान चलाइरहेको प्रहरीको प्रयास असफल भइरहेको छ ।

उनीबारेमा मनासस पार्क पुलिस डिपार्टमेन्टले पटक पटक सामाजिक सञ्जालमा फोटोसहित सूचना दिइरहेको छ । तर उनी कहाँ कस्तो अवस्थामा छिन् भन्ने अझैसम्म अज्ञात छ ।

यस्तोमा लामो अनुसन्धानपछि प्रहरीले ममताका पति नरेशलाई नै मुख्य अभियुक्त मान्दै घरमै हतकडी लगाएर लगेको हो । प्रहरीले उनको घरमा बुधबार खानतालसी गरेको थियो । भट्टलाई पक्राउका क्रममा फरेन्सिक जाँचका लागि प्रहरीले घरबाट कार्पेटसहितका सामान पनि लगेको छ ।

प्रहरीले ममताको खोजीका लागि सघाउन सर्वसाधारणलाई पनि आग्रह गरेको थियो । प्रहरीको टोली ममताबारेमा जानकारी बटुल्न उनी बस्दै आएको निवासमा पनि छिरेको छ । जुलाई ३१ मा ममता हराएपछि अगस्ट २ मा पुगेका प्रहरी अधिकारीले ममताका पति नरेश भट्टसँग सोधपुछ गरेको थियो । तर नरेशले केही कुरा खुलाएका थिएनन् । चौतर्फी दबाबबीच अनुसन्धानका क्रममा ममता बेपत्ताको पछाडि नरेशकै हात रहेको निष्कर्षसहितप प्रहरीले उनलाई पक्राउ गरेको हो।

दश महिने सन्तान घरमै छाडेर कहाँ गायब भइन् ममता ?
नरेशले ममता हराएको रिपोर्ट गर्न नचाहेको समाचार अमेरिकास्थित हिमालय खबरले छापेको छ । ममता हराएको तीन दिनपछि मात्रै नरेश प्रहरीकहाँ पुगेको खुलेको छ । घटनाको तीन दिनपछि मात्रै भट्टले हराएकी पत्नीबारे सूचना दिनुलाई अमेरिकास्थित कतिपय प्रवासी नेपालीले शंकास्पद भनेका थिए । भट्टले तीन दिनपछि दिएको सूचनाका आधारमा भर्जिनिया प्रहरीले ममतालाई बेपत्ता व्यक्तिको सूचीमा राखेर खोजेको थियो ।

प्रहरीले गरेको अनुसन्धानका क्रममा ममताले पछिल्लो समय परिवारका सदस्य, साथीहरू र रोजगारदातालाई पनि एकदमै कम सम्पर्क गर्ने गरेको खुलेको छ ।

प्रहरीले बेपत्ता व्यक्तिबारेको विवरण सार्वजनिक गर्ने क्रममा ममता जुलाई २७ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको जनाएको थियो । जुलाई २८ मा उनले साथीसँग कुरा गरेको खुलेको छ। त्यसपछि उनलाई जुलाई ३१ मा उनका श्रीमान नरेशले अन्तिमपटक देखेको प्रहरीले जनाएको छ ।

भर्जिनियाकै अस्पतालमा कार्यरत ममता एक १० महिने नाबालककी आमा पनि हुन् । स्थानीय प्रहरी र गुप्तचर निकायले खोजी गरे पनि ममताको सुइँको पनि पाउन सकेका छैनन् । तर ममता र नरेशबीच छोरी जन्मिएको दुई महिनादेखि नै विवाद र खटपट रहेको खुलेको छ ।

१० महिनाअघि आमा बनेकी ममता बेपत्ता प्रकरण रहस्यमय बन्दै गएपछि उनका पतिमाथि नै कडा अनुसन्धानको माग नेपाली समुदायले उठाएका थिए । ममतालाई कुनै न कुनै पारिवारिक दबाब र तनाव रहेको अनुमान नेपाली समुदायको छ ।

त्यही कुराको पुष्टि गर्दै ‘सेपेरेटेड सिंगम डिभोस्ड मम फ्रम भर्जिनिया’ फेसबुक पेजमा ममताले श्रीमानसँग खटपट भएको संकेत दिएको विवरण बाहिरिएको छ ।

‘हाई म ६ महिने बच्चाकी आमा हुँ । म श्रीमानसँग अलग हुन चाहिरहेकी छु । म साताको दुई दिन काम गर्छु । तर, मेरा श्रीमानले बच्चा हेर्न साथ दिएका छैनन् । म अलग भएपछि उनले बच्चालाई ‘बाल कस्टडी’मा राख्छु भनिरहेका छन् । के यो सम्भव छ ? मलाई बच्चाको हेरचाह गर्ने केन्द्रबारे सहयोग चाहियो । सामाजिक कार्यकर्ताहरूले मलाई सहयाोग र सल्लाह दिनु होला ।’

ममताको माइतीघर नेपालस्थित काभ्रेपलाञ्चोकको पनौती हो । ममताले फेसबुकबाट परिचय भएपछि डडेलधुराका नरेश भट्टसँग बिहे गरेकी थिइन् । त्यसपछि उनी अमेरिका आएकी थिइन् ।

ममताले आफ्नी आमाँग पति र उनको परिवारका सदस्यले सताउने गरेको बताउने गरेकी थिइन्। उनी पतिले दिएको यातना वर्णन गर्दै माइतीमा फोन गरेर रुने गरेको पनि खुलेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १८:४०
प्रतिक्रिया दिनुहोस्