Nic Ad Nic Ad
Nic Ad Nic Ad

किमाथाङ्का नाका खुलेपछि सात सय बढी नागरिकलाई सीमा पास वितरण

शुक्रबार, भदौ ७, २०८१

काठमाडाैं - सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयले सीमा पास वितरण गरिरहेको छ । गत जेठ १२ मा १४ नाकासहित एकैसाथ सञ्चालनमा आएको किमाथाङ्का नाका आवतजावतका लागि सात सय ९९ सीमा पास वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भोगेन्द्र श्रेष्ठले जानकारी दिए । भोटखोलामा मात्र घुम्ती टोलीमार्फत पाँच सय ६४ वटा सीमा पास वितरण गरिएको उनले बताए ।

भोटखोला र मकालु गाउँपालिकाभित्र नागरिकले सीमा पास र परिचयपत्रका आधारमा किमाथाङ्का नाका पारी पुगेर चिनियाँ बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गर्दै आइरहेका छन् । नाका खुलेसँगै सीमा पास वितरण भएपछि भोटखोलाका नागरिकलाई खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि र रोजगारीका लागि सीमावर्ती नाका आवतजातवत गर्न सहज भएको छ । भोटखोला गाउँपालिकाका वडा नं १, २ र ३ छिमेकी चीनको भूभागसँग जोडिएका छन् । यस क्षेत्रमा करिब पाँच हजारको बसोबास रहेको छ भने यहाँ आलु र कोदो मात्र उत्पादन हुँदै आएको छ । किमाथाङ्कावासी सीमापारिको चाँगा बजारमा गएर दैनिक रोजगारी गरेर जीविका चलाउँदै आएका छन् । कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले विसं २०७६ माघ ५ देखि किमाथाङ्कासहित चीनसँग जोडिएका विभिन्न नाका बन्द गरेको थियो ।

विसं २०३५ मा भन्सार कार्यालय स्थापित किमाथाङ्का नाका द्वन्द्वलगायत कारणले विसं २०५७ देखि सदरमुकाम खाँदबारीमा सारिएको थियो । खाँदबारीदेखि किमाथाङ्काको दुरी एक सय ६२ किलोमिटर छ । यहाँ अझै पनि सडक सञ्जाल नपुगेकाले सडक पुगेको स्थानबाट दुई दिन हिँडेर नाकासम्म पुग्न सकिन्छ । खाँदबारी किमाथाङ्का सडक निर्माणाधीन अवस्थामा छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १९:०८
प्रतिक्रिया दिनुहोस्