Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाढीले बारामा पक्की घर भत्कियो, गुडिरहेको कार बगायो

शुक्रबार, भदौ ७, २०८१

बाराको जीतपुरसिमरा उपमहानगरपालिका– २ शान्तिटोलमा वर्षासंगै आएको बाढी बस्तीमा पसेपछि एक घर भत्किएको छ। बर्षापछि भाङ्ग्रे खोलामा आएको बाढी बस्तीमा पस्दा स्थानीय सुनिल साहको पक्की घर भत्किएको हो।

साह नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक हुन्। उनी जिल्लाबाहिर कार्यरत छन्। घरमा उनको परिवारका सदस्य बस्दै आएका थिए। बाढीले घर भत्काएपछि स्थानीय र सुरक्षाकर्मी मिलेर परिवारका सदस्यको उद्धार गरेका छन् भने भत्किएको घरबाट सामान निकालिएको छ।

यता बाढीले बजनीमा गुडिरहेको एउटा कार बगाएको छ। जीतपुरका व्यवसायी शिवजी साह सोनारलगायत चारजना सवार कार बाढीले बगाएको हो। बाढीले कारसँगै बगाएपछि एक स्थानीयले उनीहरुलाई उद्धार गरेका थिए। कार बाढीले बगाएपछि डोरीले रुखमा बाँधेर राखिएको थियो।

उता जीतपुरसिमरा उपमहानगरपालिका– ५ स्थित खाल्का टोल डुबानमा परेको छ। अत्यधिक वर्षापछि आएको बाढीले सयौं घर रहेको बस्ती डुबानमा परेको हो। बस्ती डुबानमा परे पनि मानिस सुरक्षित छन्। वर्षाले सोही वडामा रहेको सशस्त्र प्रहरीको बेस क्याम्प, स्वास्थ्य चौकी समेत डुबाएको छ।

यसैगरी बाढीले शुक्रबार बिहान जीतपुरसिमराको सिमरा बजार, एयरपोर्ट रोड, पावर हाउस, नरबस्ती, बजनी जलमग्न बनेको थियो। वर्षा रोकिएपछि बजार क्षेत्रमा आएको बाढी भने घटेको छ। बर्षाले सडक जलमग्न बनेपछि केही विद्यालयले आकस्मिक सूचना जारी गर्दै विद्यालय बन्द गरेका थिए।

जीतपुरसिमराका नगर प्रमुख राजन पौडेलले बाढी र डुबान प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। बाढीले स्थानीयस्तरमा क्षति पुर्याएपछि जीतपुरसिमरा उपमहानगरपालिकाको नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठक बस्ने तयारी भईरहेको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १९:१४
प्रतिक्रिया दिनुहोस्