प्रस्तावित १७ राजदूतविरुद्ध संसदीय समितिमा ९ वटा उजुरी
काठमाडौँ- विभिन्न देशका लागि प्रस्तावित १७ जना राजदूतविरुद्ध संसदीय समितिमा ९ वटा उजुरी परेको छ ।
दुई वटा उजुरी इमेलबाट र ९ वटा उजुरी भौतिक रूपमा उपस्थित भएर परेको संसद् सचिवालयले जानकारी दिएको छ ।गत साउन ३० गते सुनुवाइ समितिले प्रस्तावित १७ जना राजदूतविरुद्ध १० दिने उजुरी आह्वान गरेको थियो । निर्धारित समयभित्र ९ वटा उजुरी परेको गिरीले जानकारी दिएका हुन् ।
उजुरीहरूमा केही व्यक्तिगत र केही सामूहिक रहेको बताइएको छ । उजुरीमा राजदूत सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णयमाथि प्रश्न समेत उठाइएको छ ।
राजदूत सिफारिस गर्दा किन समावेशितालाई ख्याल गरिएन भन्ने प्रश्नसहितका उजुरी परेका छन् ।
यसअघि पनि समावेशिताको प्रश्न उठाएर समितिमा उजुरीहरू परेका थिए । गत साउन १४ गते सरकारले विभिन्न १८ देशका लागि राजदूतहरूको नाम सिफारिस गरेको थियो । तर, परराष्ट्र मन्त्रालयबाट संसदीय सुनुवाइ समितिमा १७ जनाको मात्रै पुगेको थियो ।
अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस भएकी कान्ता रिजालको नाम भने सुनुवाइ समितिमा पुगेको छैन । समितिले प्राप्त १७ जना प्रस्तावित राजदूत उपर उजुरी आह्वान गरेको हो ।
अब प्राप्त उजुरी एकीकृत गरेर खोलिने, उजुरीकर्तालाई उजुरीको कारण र आधार प्रस्तुत गर्न दिएर प्रस्तावित राजदूतको सुनुवाइको कार्य अगाडि बढ्ने समिति सचिवालयले जनाएको छ ।