Nic Ad Nic Ad
Nic Ad Nic Ad

पार्टीको आन्तरिक एकता बलियो बनाउन माओवादी नेतृत्वलाई आग्रह

शुक्रबार, भदौ ७, २०८१

काठमाडौँ- माओवादी केन्द्रीय सदस्य र जनवर्गीय संगठनका नेताहरुले माओवादीभित्र आन्तरिक एकता बलियो बनाएर जान नेतृत्वलाई आग्रह गरेका छन् ।

माओवादीको उपत्यका र समन्वय विशेष प्रदेशको परामर्श बैठकमा शुक्रबार सुझाव दिँदै नेताहरुले पार्टी सडकमा पुगेको बेला पार्टीको आन्तरिक एकता गरेर जान आग्रह गरेका हुन् । नेताहरू झक्कु सुवेदी, श्रीकृष्ण अधिकारी, विष्णु सापकोटा, लेखनाथ न्यौपानेलगायत नेताहरुले अन्तर पार्टी संघर्ष चलिरहेको भन्दै आन्तरिक एकतामा जोड दिएका हुन् ।बैठकमा बोल्दै अध्यक्ष पुष्पकमल दाहालले स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्मालगायत नेताहरुले लिखित र मौखिक मत राखेको उल्लेख गर्दै आवश्यक सुझावहरू समेटेर प्रतिवेदन बनाउने बताए ।

 ‘बैठकमा बसैले पनि फरक मत भनेर राखेको छैन । म आफैँले लिखित मत राखेको छैन,’ उनले भने, ‘प्रभाकर ९शर्मा० लगायत अरूले पनि लिखित मत राख्नु भएको छ । पार्टी बलियो बनाउन खुला छलफल भएको हो ।’

दाहालले सुशासनको पक्षमा भ्रष्टाचारविरुद्ध काम गर्दा सरकारबाट निकाएको उल्लेख गर्दै आगामी दिनमा ती मुद्दा लिएर देशव्यापी अभियानमा जाने बताए । ‘हामीले भ्रष्टाचारविरुद्ध सुशासनको अभियानमा चलाउँदा सरकारबाट बाहिरिनु पर्‍यो । विजय भावमा बाहिर आएका छौँ, ‘उनले काँग्रेससँगको गठबन्धन नै ठिक भएको भन्दै अघि भने, ‘बरु शेरबहादुरजीसँग गठबन्धन जारी राख्नुपर्ने रहेछ । ओलीसँग ६/७ महिनादेखि संवाद थियो । पश्चिम बंगालजस्तो हुने भयौँ मिलौँ भनेपछि मैले पत्याउँदै गएँ । यसमा ओली इमान्दार देखिएनन् ।’

त्यतिबेला पनि बलियो आधार नभई ओलीसँग सहकार्य नगर्न कुरा उठे पनि आफूले वामपन्थी एकताका लागि ओलीसँग सहकार्य गरेको तर्क गरे । ‘अलि परैसम्म जाऔँ भनेर हो । गठबन्धन भन्दै एकतासम्म जान सकिन्छ । जनता र कार्यकर्ताको भावना त्यही छ । केही साथीहरूले भरपर्दो आधार नभई ओलीसँग मिल्न हुँदैन भन्नु भएको थियो । मेरो नियत सफा थियो, तर उनले छल गरे । इमान्दार देखिएनन् । उनलाई विश्वास गरेर गल्ती भयो ।’

उनले आफ्नो दल सरकारमा जान चासो नभएको बताए । ‘हामी सरकार बनाउने र भत्काउने खेलमा लाग्दैनौँ । पार्टी निर्माणतिर जाने र समाजवादी धारका शक्तिलाई सहकार्यको बाटो पहिल्याउने ध्यान हो ।’

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  २०:३४
प्रतिक्रिया दिनुहोस्