Nic Ad Nic Ad
Nic Ad Nic Ad

माओवादी फुट्दैन, आगामी निर्वाचनमा पहिलो पार्टी बन्छ : ‘प्रचण्ड’

शनिबार, भदौ ८, २०८१

काठमाडौँ- नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट माओवादी पहिलो पार्टी बन्न सक्ने दाबी गरेका छन् ।

नुवाकोट काठमाडौँ सम्पर्क समन्वय समितिको ८औँ भेलालाई सम्बोधन गर्दै उनले माओवादीलाई पहिलो पार्टी बनाउने आत्मविश्वासका साथ अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे ।उनले भने, ‘कसैले हाम्रो पार्टी फुटाउन सक्दैन । केही समयपछि फुटेर गएका माओवादीहरू पनि एकताबद्ध हुन्छन् । हाम्रो पार्टी फुटाउने षड्यन्त्र प्रतिक्रियावादीहरुले जनयुद्धको बेलामा पनि गरेकै हुन् । पछि पनि गरेकै हुन् । केही साथीहरू जानुभयो । पछि केही फर्केर आउनुभएको छ । बाँकी रहेकासँग पनि वार्ता चलिएको छ । टेन्सन नलिनुहोला, हामीलाई रोक्न कसैले सक्दैन ।’

उनले काँग्रेस र एमालेले आफूहरूलाई ३२ सीट भनेर हेपेको भन्दै आगामी निर्वाचनमा २०६४ सालको नतिजा दोहोर्‍याउने गरी लाग्नुपर्ने बताए ।

प्रचण्डले थपे, ‘३२ सिटलाई यिनीहरूले जातिविधि गरे, हामीसँग ३२ होइन, जनयुद्धको बेलामा एक सीट पनि थिएन नि १ भएभरका सीट त काँग्रेस र एमालेको मात्रै थिए नि त, तर हामी एक सीट नभए पनि आयौँ । हामीले २०६४ मा प्रत्यक्षमा मात्रै १२१ सीट ल्यायौँ, २४२ को वरिपरि थियौँ समानुपातिकसहितको गर्दा । अर्को पटक हामीले यिनीहरूलाई चुनौती दिनु छ। हामी आत्मविश्वासको साथ जनताको घरमा गयौँ भने अर्को पटक २०६४ जस्तै पहिलो पार्टी बन्न सम्भव छ र हामीले बनाउनै पर्छ ।’

उनले २०६४ को निर्वाचनमा भोट हाल्ने जनताको घरघर गएर आत्मसमीक्षा गर्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १७:४५
प्रतिक्रिया दिनुहोस्