हसिनाको पार्टीले दुई तिहाइ ल्याएको थियो, दम्भ देखाउनेलाई जनताले ठेगान लगाउँछन् : ‘प्रचण्ड’
काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस र एमालेलाई बिचौलिया र कमिसनखोरहरुले मिलाएको आरोप लगाएका छन् ।
पार्टीको नुवाकोट-काठमाडौँ सम्पर्क समन्वय समितिको आठौँ भेलालाई सम्बोधन गर्दै उनले ओली नेतृत्वको सरकार भ्रष्टाचारीको रक्षामा उभिसकेको दाबी गरे ।
उनले भने, ‘दलाल बिचौलियाले माओवादी ३२ सीटको भए पनि हामीलाई चुनौती दिइरहेको छ, माओवादीले दलाल पुँजीपति, नोकरशाह, सामन्त र निरंकुशतावादीहरुलाई चुनौती दिएको छ भन्ने परेपछि तिनीहरूले यो सरकारलाई हटाएका हुन् । तपाईँहरूले देख्दा काँग्रेस र एमालेका नेता मिलेर माओवादी नेतृत्वको सरकार हटाए भन्ने देखिन्छ, तर त्यो रुपमात्रै हो । सार चाहिँ यो देशका दलाल पुँजीपति, बिचौलिया कमिसनखोरहरु आफ्नो प्रतिनिधिका रूपमा सिंगारपटार गरेको यो सरकार बनाएको हो । त्यसैले यो भ्रष्टाचारीहरूको सरकार हो । यसले भ्रष्टाचारको रक्षा गर्छ ।’
सरकार भ्रष्टाचारी बचाउन लागिसकेको भन्दै अध्यक्ष ‘प्रचण्ड’ले जरुरी पर्दा सडक संघर्षमा निस्कनुपर्ने भएकाले त्यसको तयारीमा पार्टी लागिसकेको बताए । उनले आफूहरू सरकारबाट बाहिरिँदा विजेताको रूपमा निस्किएको दोहोर्याए ।
‘प्रचण्डले’ भने, ‘दुई तिहाइ भए पनि केही गर्न सक्नेवाला छैन । पाँचसात महिनाअघि मात्रै बंगलादेशमा शेख हसिनाको पार्टीले दुई तिहाइ ल्याएको थियो । के गर्यो दुई तिहाइको ? जनभावनाविपरीत गयो भने त्यस्ता दुई तिहाइ जनताले ठेगान लगाउँछन् ।