जिप र मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु
काठमाडौँ- काठमाडौँको नागर्जुनमा जिप र मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।
नागार्जुन नगरपालिका–७ स्थित बिन्दावासिनी सडक खण्डमा स्वीजरल्याण्ड पार्कबाट कलङ्कीतर्फ आउँदै गरेको प्र०१–०२५च ९२४३ नम्बरको जिपमा विपरीत दिशाबाट गइरहेको बा प्र०२-०१७प १०९ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।दुर्घटनामा परी दोलखा शैलुङ्गेश्वर नगरपालिका-६ घर भई हाल काठमाडौँ महानगरपालिका-१३ छाउनी बस्ने २० वर्षीय सजन सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
शनिबार दुर्घटना भई गम्भीर घाइते भएका सुवेदीको कलङ्की स्थित सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको प्रवक्ता अधिकारीले बताए ।
प्रहरीका अनुसार फरार रहेका गाडी चालक सुनसरी घर भई हाल काठमाडौँको नैकाप बस्ने ४३ वर्षीय जगत्बहादुर मगरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।