Nic Ad Nic Ad
Nic Ad Nic Ad

मंसिरमा हुने स्थानीय तहको उपचुनाव हाम्रो पार्टीको लागि परीक्षा हो : माधव नेपाल

आइतबार, भदौ ९, २०८१

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी मंसिरमा हुने उपनिर्वाचनमा पार्टीको परीक्षण हुने भएकाले सबै शक्ति केन्द्रित गर्न निर्देशन दिएका छन् ।

नेकपा एसको दशौं महाधिवेशनपछि आयोजित पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आगामी २०८४ को निर्वाचनलाई समेत ध्यान दिएर जित्ने ठाउँमा फरक रणनीति अपनाउनुपर्ने बताए ।नेपालले भने, ‘सम्भवतः आगामी मंसिरमा स्थानीय तहका विभिन्न रिक्त पदमा उपचुनाव हुन गइरहेको छ । त्यो उपचुनावमा हाम्रो परीक्षा हुनेछ । त्यो परीक्षाका आधारमा त्यहाँको हाम्रो पार्टी नेतृत्वको मुल्यांकन हुनेछ । जिम्मेवारी पाएपछि मात्र खट्छु भन्ने होइन कि यो मेरो जिम्मेवारी हो भनेर अहिलेदेखि नै खटिनुपर्छ ।’

नेपालले नेकपा एमालेको जस्तै निर्वाचन क्षेत्र केन्द्रित जिम्मेवारी केन्द्रीय सदस्यहरूलाई दिने संकेतसमेत गरे । नेपालले पार्टीमा अनुशासनहीनता र अराजकता बढेको भन्दै संक्रमणकाल भएका कारण कारबाही गर्न नसकेर निरीह बन्नुपरेको बताए ।

तत्कालीन केन्द्रीय कमिटीकै सदस्यहरूले पार्टीको निर्वाचनमा पार्टीका उम्मेदवारलाई भोट दिन नगएको समेत बताए । तत्कालीन केन्द्रीय सदस्यहरूमध्ये एक सयजनाले भोट नहालेको सूचनासमेत आएको नेपालले बताए ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्