‘१९ पटक सुकुम्वासी आयोग बन्यो तर समस्या समाधान भएन’
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोक कुमार चौधरीले १९ पटक सुकुम्वासी समस्या समाधानका लागि आयोग गठन भए पनि अहिलेसम्म किन समस्या समाधान नभएको भन्दै प्रश्न गरेका छन् ।
आइतबार प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै सांसद चौधरीले अब गठन हुने सुकुम्वासी समस्या समाधान आयोगमा निष्पक्ष व्यक्ति नियुक्त नगर्ने हो भने समस्या समाधान गर्न कठिन हुने बताए । भूमि व्यवस्था सहकारी र गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई बोलाएर छलफल गरिएको सो बैठकमा बोल्दै सांसद चौधरीले कैलालीको टिकापुर क्याम्पसको जग्गामा सुकुम्वासीहरू बसेकाले उनीहरूलाई कसरी व्यवस्थापन गर्ने त्यसबारेमा सरकारलाई ध्यानाकर्षण गराए ।
उनले स्वर्गद्वारीमा १ हजार ५० गुठीका किसानमध्ये ७५० मोही किसान रहेको बताउँदै मोही किसान र सरकारबिच यस अगाडि सहमति भए पनि त्यसको कार्यान्वयन नभएकोप्रति ध्यानाकर्षण गराए ।