३ दिन थपियो गठ्ठाघर घटनामा छानबिन समितिको म्याद
काठमाडौँ- भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न बनेको समितिको म्याद तीन दिन थप गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला नेतृत्वको छानबिन समितिलाई तीन दिनको म्याद थप गरिएको हो ।निरौलाको समितिलाई एक साताको म्याद दिएर घटनाको छानबिन गरेर प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको थियो । समितिको म्याद आइतबार सकिए पनि छानबिन र प्रतिवेदन लेखनको काम बाँकी नै रहेकाले तीन दिन म्याद थप गरिएको छ ।
समितिका संयोजक निरौलाले छानबिन टुंगिन बाँकी नै रहेकाले तीन दिन म्याद थप भएको र छानबिनको काम अन्त्यतिर पुगेको बताएका छन् ।
ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ छहरे घर भई काठमाडौँ कपनमा बस्दै आएका ६५ वर्षका उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो । ट्रकका चालक सर्लाही मलंगवा नगरपालिका-२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।