नेभिगेशन
राजनीति

साइलेन्ट साइलेन्सर देउवाः दुई उपसभापति र महामन्त्री बोलाएर यसरी मिलाउँदैछन् विवाद

काठमाडौं– सत्ता राजनीतिमा मौन तर निर्णायक रहँदै आएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक हिसाबले ‘साइलेन्ट साइलेन्सर’ राजनीतिज्ञका रुपमा स्थापित भैसकेका छन्। 

धेरै नकराउने तर निर्णायक बाटो तय गर्ने सभापति देउवाले यतिबेला कांग्रेसभित्रको विवादलाई समाधानको बाटो दिन लागेका हुन्। 

दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले केन्द्रीय समितिमा राखेको प्रस्तावका विषयमा विवाद उठेपछि समाधानको उपाय खोजी गर्दैछन्। 

थापाले आगामी निर्वाचनमा गठबन्धन नगरी कांग्रेस एकल रुपमा निर्वाचनमा जानुपर्ने र शर्माको एक्जिट पोलको अनिवार्यताको प्रस्तावमाथि संस्थापन पक्षका केन्द्रीय सदस्यले बिमती जाहेर गरेका थिए। यसकारण उठेको विवाद समाधानका निम्ति देउवाले महामन्त्री थापा र विश्वकर्मासहित दुई उपसभापतिलाई निवासमा डाकेका छन्। 

सोमबार बुढानिलकण्ठमा उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङसहित थापा र शर्मासँग देउवाले छलफल गरी समाधानको मध्यमार्गी बाटो खोज्नेछन्। 

‘विवाद भएको विषयमा प्रस्तावका विषय पनि समेटिने र त्यसमा उठेका विवादको सम्बोधन समेत हुनेगरी निचोड निकाल्ने सभापतिको जोड रहनेछ’, देउवानिकट स्रोतले भन्यो,‘त्यसका लागि पदाधिकारी मध्य मुख्य मानिने उपसभापति र महामन्त्रीलाई डाकिएको हो।’

हुन त कांग्रेसमा आएका विवादीत प्रस्तावमाथि सभापतिले हस्तक्षेप गर्ने या निषेध गर्न सक्ने शक्ति पनि हुन्छ। तर, देउवाले यसलाई संवादका हिसाबले नै टुंगो लगाउने र पारित गराउने कोशिश गर्ने तयारी गरेका छन्।

‘सभापतिले यस विषयमा समाधान निकाल्नु हुनेछ। विवादरहित हिसाबले नै कांग्रेसको आधिकारिक निर्णय तय हुनेछ। आवश्यकताको हिसाबले निर्णय हुनेगरीको समाधान सभापतिले खोज्ने भन्नुभएको छ’, बुढानिलकण्ठ स्रोतले भन्यो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति