Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रिय पार्टी बन्न नसकेका दलका सांसदको हैसियत स्वतन्त्र बनाइनुपर्छ : शंकर पोखरेल

सोमबार, भदौ १०, २०८१

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा जो कमजोर छ राज्य सत्ता सञ्चालनमा उही निर्णायक हुँदा राजनीतिक अस्थिरता मौलाएको बताएका छन् ।

नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागको बैठकलाई सोमबार सम्बोधन गर्दै पोखरेलले लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्नुपर्ने बताए ।‘लोकतन्त्रमा जहिले पनि शासन गर्ने भनेको बलिया पार्टीले नै हो’, उनले भने । कानूनको सुधारद्वारा लोकतन्त्रलाई थप बलियो बनाउन सकिने भन्दै उनले नेपालको कानूनले नै पार्टीहरूलाई बलियो हुन रोकको टिप्पणी गरे ।

कानूनले राष्ट्रिय पार्टी बन्न नसकेका दलका सांसदलाई पनि पार्टी छाड्दा कारबाही हुने प्रावधान राखेर दलहरूलाई बलियो हुनबाट रोकेको पोखरेलको तर्क छ । जो राष्ट्रिय पार्टी हुँदैनन् उनीहरूको सांसद स्वतन्त्र हुन्छ भन्ने कानूनी व्यवस्था भएको भए देशमा पार्टीको संख्या स्वतः कम हुने स्थिति बन्ने उनको भनाइ छ ।

‘त्यस्तो व्यवस्था भए राष्ट्रिय दल बन्न नसकेका दलका सांसदले आफ्नो राजनीतिक भविष्य निर्माणको लागि स्वतः बलिया राजनीतिक पार्टी खोज्ने परिस्थिति आउँछ । साना राजनीतिक दललाई राजनीतिमा बलशाली बनाउने काम कानूनले गरेको छ’, उनको जिकिर छ ।

राजनीति अस्थिरताको बीचमा नागरिकको लोकतन्त्रप्रतिको भरोसा जोगाएर राख्न नसकिएकाले मुलुकलाई बर्बादीबाट जोगाउन काँग्रेस-एमालेले पहल लिनुपरेको पोखरेलले बताए ।

आर्थिक विकास वा भौतिक विकासले मात्र नागरिकका आवश्यकता र भावना सम्बोधन गर्न सकिँदैन भन्ने कुराको पाठ बङ्गलादेशबाट सिक्नु पर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्