Nic Ad Nic Ad
Nic Ad Nic Ad

संसदीय सुनुवाइसहित चार समितिको बैठक बस्दै

मंगलबार, भदौ ११, २०८१

काठमाडौं– संघीय संसदका विभिन्न चारवटा समितिको बैठक आज बस्दैछ । आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन, संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । सबै बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने तय भएको छ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाल अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा स्तरोन्नतिले नेपाललाई पार्ने प्रभाव/असर, चुनौती प्राप्त हुने अवसर एवं यस सम्बन्धमा नेपाल सरकारबाट भएका कामकारबाही र प्रगतिको अवस्था बारेमा छलफल गर्ने कार्यसूची रहेको छ ।


यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको पाँचौँ वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल हुनेछ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्र, बौद्ध मेलम्ची घ्याङ्ग गुठीको जग्गा जमिनको अवस्था, समस्या र चुनौती, बौद्धनाथ क्षेत्रको पुजारी नियुक्ति, आय आर्जन र भेटी व्यवस्थापनलगायत विषयमा छलफल हुनेछ ।


संसदीय सुनुवाइ समितिको बैठकमा विभिन्न देशका लागि नेपाली राजदूत पदमा प्रस्तावित व्यक्तिहरूका सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरू खोली वितरण गर्ने कार्यसूची छ । यस्तै, प्रस्तावित राजदूतहरूले पेस गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गर्ने, प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउन संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम कार्यतालिका तयार गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  ०७:२१
प्रतिक्रिया दिनुहोस्