Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुकुल ढकाललाई साधारण सदस्य समेतबाट निकाल्ने रास्वपाको निर्णय

मंगलबार, भदौ ११, २०८१

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निवर्तमान महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहनेगरी निकाल्ने निर्णय गरेको छ। 

रास्वपाको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी हितविपरित जथाभावी बोलेको, पार्टीले दिएको निर्देशनअनुसार काम नगरेको, प्रक्रियाअनुसार चल्नुको साटो त्यसको बर्खिलापमा मिडियावाजी गरेकोलगायतका कारण देखाउँदै रास्वपाको साधारण सदस्यता खोसिएको हो। 

ढकाललाई ३५ दिनको समय दिएर प्रस्टीकरणको मौका पनि दिइएको थियो। ढकालले निरन्तर पार्टी सभापति रवि लामिछाने‚ उपभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्याल लगायत पदाधिकारी तथा केन्द्रीय नेताहरू विरुद्ध बोलेका थिए। 

यसअघिको केन्द्रीय समिति बैठकको निर्णयअनुसार रास्वपाले उनलाई साधारण सदस्यबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेको थियो।  अन्तिम पटक ढकाललाई रास्वपाको भदौ ५ गतेको बैठकले २४ घण्टे स्पष्टीकरण सोधेको थियो। जवाफमा ढकालले सभापति रवि लामिछानेलाई ‘अपराधी करार गरिछाड्ने’ भनेका थिए। 

पार्टीको विषयमा जनमत अध्ययन गरी फर्केपछि प्रतिवेदन बुझाउनुअघि नै रास्वपा महामन्त्रीको पदमा रहँदा ढकाल सभापति लामिछानेसँग चिढिएका थिए।
 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्