Nic Ad Nic Ad
Nic Ad Nic Ad

काँग्रेस-एमालेले लेखा समिति प्रतिपक्षलाई नदिनु संसदीय परम्परा विपरीत : प्रचण्ड

मंगलबार, भदौ ११, २०८१

काठमाडौँ - प्रमुख प्रतिपक्ष दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को लेखा समिति प्रतिपक्ष दलले पाउनु पर्ने दाबी गर्दै काँग्रेस-एमालेले उक्त समिति आफैँ राखेर संसदीय परम्परा विपरीत गएको बताए ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले राजनीतिक सन्तुलन कायम गर्न लेखा समिति प्रतिपक्षले पाउनुपर्ने तर्क गरे ।‘संसदीय परम्परामा संसारभरि नै लेखा समितिको सभापति प्रतिपक्षले पाउने गरेको छ । यो एक किसिमको लोकतान्त्रिक सन्तुलन र नियन्त्रण हो । अहिले यो संसद्मा पनि प्रतिपक्षले लेखा समितिको सभापति पाउनुपर्ने हो तर नदिन अनेकथरी कुतर्क गरिँदै छ,’ उनले भने, ‘प्रतिनिधिसभाको लेखा समिति पाउन ‘राष्ट्रिय सभाको अध्यक्ष छाड, प्रतिनिधिसभाको उपसभामुख छाड’सम्म भनिँदै छ । किन भनिँदै छ यस्तो ? किनकि माफियाको यति धेरै सेवा गर्नु छ कि त्यसका लागि सिङ्गै दुई तिहाइको सरकारसमेत पर्याप्त छैन, समिति पनि चाहिन्छ ।’

उनले प्रतिपक्षको भूमिका भूमिका खोसेर जनताको आवाज नरोकिने बताए । ‘मेरो च्यालेन्ज भयो, लेखा समिति मात्रै किन ? चाहिन्छ भने प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत पनि तपाईँहरूसँगै राख्नोस्,’ दाहालको आक्रोश थियो, ‘हामीले हिजो केबल एउटा जिम्मेवार नागरिकका रूपमा तपाईँहरूको कुशासनको प्रतिरोध गरेका हौँ, आज पनि हामी त्यो हिम्मत र हौसला राख्छौँ ।’

दाहालले पछिल्ला चालिस दिनमा सरकार बदनाम भइसकेको दाबी गरे ।

‘सरकार यति छिटै यो तहमा बदनाम हुनु प्रतिपक्षका हिसाबले राम्रै त हो नि, भन्न नसकिने होइन । तर म आज खुसी होइन, ठूलो चिन्ताका साथ यो रोस्टममा उभिएको छु,’ उनले थपे, ‘जम्मा चालिस दिनमै सरकार स्वार्थ समूहहरूका पक्षमा जसरी खुला रूपमै उभियो, त्यसले जनतामा निराशा र आक्रोशको आगो ज्यामितीय रूपमा बढेको छ । त्यसका झिल्का जताततै देखिँदै छन् ।

त्यो आगो लोकतन्त्रकै विरुद्ध प्रयोग होला कि भन्ने मेरो चिन्ता छ । सरकारका प्राथमिकता हेर्दा यसले गर्न नपर्ने सबै गर्ने तर गर्न पर्ने केही नगर्ने देखिँदै छ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेथिति, विकृतिबारे मतलब नभएको उल्लेख गर्दै विद्युत्को डेडिकेटेड र ट्रंकलाइन बिलको विवादमा उत्रिएको आरोप लगाए ।

‘लोडसेडिङको बेलाको डेडिकेटेड र ट्रंकलाइनको बिलको विवादमा प्रधानमन्त्री रोष्टममा उभिनुभयो । कडा रूपमा उभिनुभयो । तर, जसका पक्षमा जसरी उभिनुभयो, त्यो देखेर सिंगो देश स्तब्ध भयो,’ दाहालले थपे, ‘यही रोष्टमबाटै मैले यो पनि भनेको थिएँ, यो सरकार सुशासनसँग तर्सिएर बनेको हो ।’

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १५:०१
प्रतिक्रिया दिनुहोस्