नेभिगेशन
राजनीति

रामकुमारी झाँक्री सोच्दै होलिन्– यस्तै रहेछ राजनीतिक चलन!

काठमाडौं– जम्मा साढे दुई लाख पनि मतदाता नरहेको नेकपा एकीकृत समाजवादी पार्टीको पदाधिकारीको निर्वाचनमा आश्चर्यलाग्दा परिणामले यो दुखान्तको यात्रामा रहेको संकेत गरेको छ। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुनै पनि शर्तमा सहमति नगरी पार्टी विभाजन गर्दै दर्ता गरिएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको चार्म गत निर्वाचनमा फितलो रह्यो। 

पार्टीका नाममा गठबन्धन गरी कांग्रेस र माओवादीको भोटसहित १० सांसद लिएर सदनमा आए पनि समानुपातिकमा थ्रेसहोल्डको मत कटाउन नसके पनि जम्बो केन्द्रीय कमिटी र पोलिटब्युरो बनाइएको छ। 

तर अचम्मलाग्दो के देखियो भने जसले पार्टी गठनका निम्ति युवा उर्जा दियो त्यसैलाई पदाधिकारीमा पराजित गराइएको छ। स्थापनाका बेला सचिव पदको जिम्मेवारी पाएकी रामकुमारी झाँक्रीलाई उपाध्यक्ष पदमा पराजित गरी जयन्ती राईलाई निर्वाचित गराइएको छ। 

एमाले अध्यक्ष ओलीसँग मतभेद रहे पनि पार्टी विभाजनको विपक्षमा लागेर फर्किएका नेतासँगै झाँक्रीले पनि राजनीतिक सुनिश्चितता कायम राख्न सक्ने थिइन्। तर, उनले तत्कालिन अवस्थामा विद्रोहलाई नै उचित ठानी अध्यक्ष नेपाललाई साथ दिएकी थिइन्। 

यति मात्र होइन, नाडी नै समाएर अगाडि बढाएकी थिइन्। तर, आज उनैलाई पराजित गराइएको छ। 

एमालेसँग विद्रोह गरेको नाममा नयाँ पार्टी गठनको चरणसम्म पुग्दा मिलाउनका लागि १० भाईले १० बुँदा तयार पारेका थिए। ति बुँदामा ओली तयार भए पनि माधवकुमार नेपालले सहमति जनाएनन्। फलतः पार्टी एकता होइन, चोइटियो। र पनि अध्यक्ष नेपालको हात समातेर निर्वाचन आयोगसम्म लैजाने पात्र थिइन् झाँक्री।

पदाधिकारीको निर्वाचनमा केन्द्रीय सदस्यहरूले उनैलाई पराजित गरिदिए। झाँक्रीले अहिले बुझेकी छन्,‘यस्तै रहेछ राजनीतिक चलन।’

पछिल्ला दिनमा भने झाँक्री एमाले अध्यक्ष ओलीप्रति नरम मिजासमा मात्र होइन एमाले पंक्तिमा नै रिझेको प्रतीत हुने कतिपय घटनाक्रमले देखाइरहेको थियो। यसैकारण झाँक्रीले आगामी राजनीतिक भविष्यलाई एमालेतिर नै फर्किएर बलियो बनाउने सम्भावना पनि देखिन्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति