काठमाडौँमा दुई अस्पतालको फोहर संकलनमा रोक
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एएसजी आइ केयर र नेपाल स्किन हस्पिटलको फोहर उठाउन रोक लगाएको छ। अनुगमनका क्रममा यी स्वास्थ्य संस्थाहरूले जोखिमपूर्ण फोहरलाई स्रोतमै वर्गीकरण नगरेको, हानिकारक फोहरलाई निर्मलीकरण गर्न आवश्यक साधनहरूको अभाव रहेको, र सामान्य फोहरसँगै मिसाएर फाल्ने गरेको पाइएको थियो।
अनुगमन टोलीले दुवै स्वास्थ्य संस्थामा रंगको साकेत अनुसार जोखिमपूर्ण फोहर छुट्टै राख्नुपर्ने व्यवस्था नगरेको र फोहर एउटै ब्यागमा जम्मा गरेर असुरक्षित रूपमा विभिन्न स्थानहरूमा राखिएको पाइएको बताएको छ । वातावरण व्यवस्थापन विभागका फोहर मैला व्यवस्थापन महाशाखा प्रमुख कविता राईका अनुसार, संक्रमित फोहरको मात्रा थोरै भए पनि हानिकारक हुनसक्छ, र यी स्वास्थ्य संस्थाहरूले कुनै पनि सुरक्षात्मक उपाय अवलम्बन नगरेकाले फोहर उठाउन रोक लगाइएको हो।
गत वर्ष काठमाडौं महानगरपालिकाले ५० वटा अस्पतालहरूको फोहर व्यवस्थापन अनुगमन गर्दा २० वटा अस्पतालमा गलत अभ्यास भेटिएको थियो। ती अस्पतालहरूलाई सुधारपछि मात्र फोहर उठाउन अनुमति दिइएको थियो।