पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा आज फैसला आउँदै
काठमाडौँ - पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको अपहरण तथा हत्या सम्बन्धी मुद्दाको फैसला आज सर्वोच्च अदालतबाट हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा अग्नि सापकोटाविरुद्धको मुद्दाको निर्णय सुनुवाइको पेशी तोकिएको छ ।
सापकोटालाई काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सजाय माग गर्दै कनकमणि दीक्षित, अर्जुनकी पत्नी पूर्णिमाया लामा र सुशील प्याकुरेलसमेतले रिट दायर गरेका थिए । सापकोटालाई सभामुख र मन्त्री बनाउने निर्णयविरुद्ध परेका रिटको लामो समयसम्म फैसला आएको छैन ।
माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै सपकोटाविरुद्ध २०६८ सालमा मुद्दा परेको थियो । अर्जुन लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेका थिए । उक्त मुद्दामाथि प्रारम्भिक फैसला गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो ।
संवैधानिक इजलासमा सापकोटाविरुद्ध तीनवटा मुद्दा छन् । लामाकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते आफ्ना पतिको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गरेकी थिइन् । त्यस्तै पत्रकार कनकमणि दीक्षितविरुद्ध पनि सापकोटाले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । उनलाई सभामुख बनाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपतिका राजनीतिक मामिलाविज्ञ सुशील प्याकुरेलल राजीनामा दिएका थिए ।
यसअघि बहस भएर निर्णय सुनुवाइ बाँकी रहेका थियो । संवैधानिक इजलासका अध्यक्ष विश्वम्भर श्रेष्ठको अध्यक्षमा प्रकाशमान सिंह राउत, सपना प्रधान मलल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासबाट निर्णय सुनाइने गरी आज पेशीमा राखिएको छ ।