Nic Ad Nic Ad
Nic Ad Nic Ad
अमेरिकामा नेपाली विद्यार्थीको निर्मम हत्या

अमेरिकी नागरिकसँग केही समय सम्बन्धमा रहेकी नेपाली विद्यार्थी मुनाको हत्या कसरी भयो?

बुधबार, भदौ १२, २०८१

काठमाडौं– अमेरिकाको टेक्सास राज्यस्थित ह्युस्टनमा मृत अवस्थामा फेला परेकी २१ बर्षिया नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानी हत्या गरिएको खुलेको छ। एकल आमा अनिता पाण्डे अधिकारीले हुर्काएकी मुना सन् २०२१ मा स्नातक अध्ययनका लागि अमेरिका पुगेकी थिइन्।

श्रीमानले अस्वीकार गरेपछि छोरीलाई एक्लै हुर्काउन निकै चुनौतीको सामना गरिरहेकी अनिता अधिकारीले मुनाको पालनपोषण गर्न अथक मिहेनत गरिन्। कठिनाइको बाबजुद अनिताले छोरीलाई आफ्नो सपना पूरा गर्न अमेरिका पठाउन सफल भइन्।

ह्युस्टनमा, मुना आफ्नै अपार्टमेन्टमा सर्नुअघि नेपालबाट आएका साथीसँग बस्थिन्। मुना एक गोरा अमेरिकी पुरुषसँग सम्बन्धमा रहेको पारिवारिक स्रोतले खुलासा गरेको छ। जब उनले आफ्नी आमासँग उनीहरूको बाहिरको फोटो र भिडिओ पठाएर सम्बन्ध स्थिर हुने विषयमा संकोच पनि जताएकी थिइन्।

छोरीको असामयिक मृत्युबाट स्तब्ध भएकी अनिताले हत्याको छानबिन गरी दोषीलाई कानुनी कठघरामा ल्याउन प्रशासनसँग अपिल गरेकी छन्। 

उनले न्यायको खोजीमा अमेरिकामा रहेका नेपाली समुदायलाई सहयोग गर्न पनि आग्रह गरेकी छन्। मुनाका साथीहरू र अमेरिकामा रहेका नेपाली समुदायका सदस्यहरूले पनि न्यायको माग गरिरहेका छन्।

‘हाम्री प्यारो साथी र पूर्वरूममेट मुना पाण्डेको लागि न्याय माग्छौं, जसलाई हामीबाट दुःखद रूपमा लगियो। ह्युस्टन, टेक्सासमा उनको आफ्नै घरमा गोली हानिएको थियो, र यस्तो हिंसात्मक तरिकामा उनलाई गुमाउनुको पीडा असहनीय छ। यस मूर्खतापूर्ण कार्यका लागि जिम्मेवार व्यक्तिहरूलाई न्यायको कठघरामा नआएसम्म हामी आराम गर्ने छैनौं’, मृतक मुनाकी पूर्वरुममेट ओरुषा निरौला भन्छिन्,‘मुना त्यो अविश्वसनीय व्यक्तिको लागि सम्झिन योग्य छिन्, र हामी उसले पाउनु पर्ने न्यायको लागि लडिरहनेछौं।’

ओरुषा अगाडि भन्छिन्,‘मुना मेरो लागि बहिनी जस्तै थिइन्। जीवन, दया र आनन्दले भरिएको। उनको उज्यालो व्यक्तित्व र मिठो हाँसोले हरेक पल उज्यालो बनायो। यो घटना हृदयविदारक छ। हामीबाट यति क्रूरतापूर्वक हाम्रो साथीको ज्यान लिइयो। हामी यस अपार क्षतिमा शोक व्यक्त गर्दछौं, मेरो विचार उनको परिवार, विशेष गरी उनकी आमासँग छ।’

मुनाको मोबाइल ३ दिनदेखि सम्पर्कविहीन थियो। मुना सोमबार साँझ उनको ह्युस्टन अपार्टमेन्टमा मृत भेटिइन्। ह्युस्टन प्रहरीका अनुसार अधिकारीहरूले घातक गोली लागेको फेला पारेको थियो। 

घटना वेस्ट एयरपोर्ट बुलेभार्डमा भएको पत्ता लाग्यो जहाँ प्रहरीले मुनाको शव फेला समेत पारेको थियो। हालसम्म कुनै संदिग्धको पहिचान हुन सकेको छैन र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

शवलाई पोस्टमार्टमका लागि पठाइएको र घटनामा संलग्न कसैलाई पनि पक्राउ गर्न नसकेको प्रहरीले पुष्टि गरेको छ।

अपार्टमेन्ट कम्प्लेक्सका कर्मचारीहरूले शवका बारेमा जानकारी दिएका थिए। यस घटनाका बारेमा जानकारी भएका जो कोहीले टेक्सासको सुरक्षा निकायसँग गोप्य रुपमा कुराकानी गर्न सकिने पनि बताइएको छ। 

नेपालको भोजपुरकी मुना ह्युस्टन कम्युनिटी कलेजमा पढ्दै थिइन्। नेपाली संघ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमका अनुसार मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका आएकी थिइन्। काठमाडौंमा बस्दै आएकी उनकी आमालाई यो दुखद घटनाबारे जानकारी गराइएको छ। 

मुना आफ्नो परिवारमा एक्ली सन्तान थिइन्। उनको फोन शनिबारदेखि बन्द भएको बताइएको छ, जसले गर्दा घटना सप्ताहन्तमा भएको हुन सक्ने आशंका गरिएको छ। तर, उनको मृत्युको वास्तविक समय वा परिस्थितिको बारेमा कुनै ठोस जानकारी छैन। घटनास्थलमा कुनै हतियार नभेटिएको र घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। 

यसो भन्छिन् भावविह्वल आमा
उसको बुवा सिपाही हो। मैले नै हुर्काएको हो, फोटोग्राफी पसल चलाएर। कति दुःखले, कति संर्घष गरेर हुर्काएको बच्चालाई कसले यस्तो गरिदियो। मिठो मसिनो खान दिएपछि यत्रो किन दिइस् भनेर उसको बुवाले कुटपिट गर्थे मलाई, लुकाईलुकाई दिनुपथ्र्यो। लगाउने लुगा ल्याइदिए काटेर फालिदिन्थे।

anita-1724837347.png
छोरी ठूली भएपछि सहनै सकिएन। मम्मी म यहाँ बस्न सक्दैन, पढ्न सक्दैन भनेर उसकै खुसीका लागि डिभोर्स गरेको हुँ। पहिले पनि डिभोर्सका लागि उजुरी दिएर फिर्ता लिएको थिएँ, तर कुट्न नछोडेपछि फेरि डिभोर्स गरेको हुँ। नानीको भविष्यको लागि डिर्भोस गरेको हुँ।

बुवाले हेपेपछि सबैले हेप्छन् मम्मी हामीले केही गरेर देखाउनुपर्छ भन्ने गर्थी। अमेरिका गएर पढ्छु भनेर एकदमै साहस गरेर गएकी थिइन्। उता पुगेपछि पनि अब एक बर्ष मात्रै हो। एक वर्षपछि कमाइहाल्छु भनेर भन्ने गर्थिन्।

कहिले कलेजको फि त कहिले गाडी ठोक्कियो भनेर भन्थिन्। मैले खर्च पठाउँथे। नर्सिङ पढन गएकी थिइन्। अगस्तमा तीन वर्ष भएको थियो। अस्ति शुक्रबारबाट छोरीसँग कुराकानी भएको थिएन। मेसेज पनि सिन गरिनन्। व्यस्त होला भन्ने ठानें। ४ दिनपछि मात्रै उसको साथीले उक्त दुःखद खबर सुनाए। साथीहरुलाई पनि घटनाको बारेमा थाहा भएन भन्छन्। कुन जन्मको पाप हो, कुन हत्याराले मार्यो मेरो छोरी। हत्यारा पत्ता लागोस् भन्ने मेरो माग हो।

गएको पुषमा एउटा अमेरिकन केटाले फलो गर्दैछ मलाई, मोबाइल नम्बर मागेर बिहे गर्ने प्रस्ताव गरेको थियो भनेर भनेकी थिइन्। कोर्टम्यारिज गरेर सँगै फ्ल्याटमा बसौं भनेर भनेको सुनाएकी थिइन्। तर, ३ महिनाअघि भने त्यो मान्छे व्यवहारिक कुरा गर्दैन, त्यस्तोसँग राम्रो हुँदैन भनेर भनेकी थिइन्। अब उसँग बिहे गर्दिन भनेकी थिइन्।

मेरो एउटै छोरी हो, त्यसकै लागि बाँचेको थिए। अब संसारै सकियो। बस् नानीको न्यायका लागि म अमेरिका जान चाहान्छु। हत्यारा पत्ता लगाउन चाहान्छु। अहिले काठमाडौंमा भाडामा बसेको छु, आर्थिक अवस्था कमजोर छ, कसरी जाने होला अमेरिका?
 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १५:१६
प्रतिक्रिया दिनुहोस्