‘सरकारी अस्पतालको सेवा प्रभावकारी बनाउन तीनै तहका सरकार लागौँ’
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जनतालाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।
बुधबार भक्तपुरस्थीत भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी लगायत अत्याधुनिक स्वास्थ्य उपकरणबाट सेवा शुभारम्भ गर्दै पौडेलले सरकारी अस्पतालबाट जनताले लिने सेवा सुविधा बढाई सहज गर्नका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका हुन् ।
उनले तीनै तहका सरकार मिलेर अस्पतालको सेवालाई प्रभावकारी बनाउनका लागि ध्यान केन्द्रित गर्नुपर्ने बताए । मन्त्री पौडेलले सरकारी अस्पतालको सेवा समयमा चिकित्सकहरूले पूर्ण रूपमा अस्पतालमा केन्द्रित हुनुपर्ने र कार्यालय समयपछाडि पनि आवश्यक परे सेवा दिनका लागि तयार हुनुपर्ने धारणा राखे ।
सरकारी अस्पतालको विद्युत् महशुसमा आधा छुट दिने गरी मन्त्रालयले सोच तयार गरिरहेको उनको भनाइ छ । उनले चिकित्सकको सुरक्षाको सम्पूर्ण ग्यारेन्टी सरकारले लिने बताए ।