Nic Ad Nic Ad
Nic Ad Nic Ad

आगामी प्रधानमन्त्री म होइन, शेरबहादुरजी हो : आरजु राणा

बिहीबार, भदौ १३, २०८१

काठमाडौँ- परराष्ट्रमन्त्री आरजु राणा देउवाले आगामी प्रधानमन्त्री आफू नभई शेरबहादुर देउवा नै बन्ने बताएकी छन् ।

आज धनगढीमा आयोजित पत्रकार भेटघाटमा उनले आरजु सम्भावित प्रधानमन्त्री भन्ने हल्लालाई ‘राम्रो कल्पना’ भनेर टिप्पणी गरिन् ।हालै प्रधानमन्त्री केपी शर्मा ओलीले महिला प्रधानमन्त्री बनाउन चाहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री ओलीको भनाइलाई कतिपयले आरजुलक्षित ठानेका थिए ।

धनगढीमा आज पत्रकारहरूले पनि यही विषयमा जिज्ञासा राखिएको थियो । त्यसको जवाफ दिने क्रममा आरजुले भनिन्, ‘प्रधानमन्त्री बन्न पहिले संसदीय दलको नेता बन्नुपर्छ । बाहिरबाट हेर्दा एउटा देखिएला तर, पार्टीभित्रै मेरो हैसियत कति छ मलाई थाहा छ । राम्रो कल्पना हो ।’

प्रधानमन्त्री ओलीले महिला प्रधानमन्त्री बन्ने भनेर बोलेकोमा उनले धन्यवाद समेत दिइन् । यद्यपि प्रधानमन्त्री ओलीको भनाइ आफूप्रति लक्षित नभएको जस्तो लागेको राणाले बताइन् ।

‘बाहिरबाट हेर्दा एउटा देखिएला तर पार्टीभित्र मेरो आफ्नै हैसियत कति छ मलाई थाहा छ । त्यसकारण त्यो राम्रो कल्पना हो । म प्रधानमन्त्रीज्यूलाई धेरै धन्यवाद दिन चाहन्छु,’ उनले भनिन्, ‘उहाँले एउटा यस्तो कुरा बताइदिनुभयो, जसले जनमानसमा एउटा कल्पना बनेको छ । तर त्यो मेरो लागि भन्नुभाजस्तो लाग्दैन ।’

प्रधानमन्त्रीको भनाइ उनकै पार्टीको कोही व्यक्तिप्रति लक्षित हुन सक्ने बताइन् । तर काँग्रेसबाट भने आगामी प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने उनले बताइन् । ‘हाम्रो पार्टीको अब अर्को प्रधानमन्त्री बन्ने भनेको शेरबहादुर देउवा जी नै हो,’ आरजुले भनिन् ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्