Nic Ad Nic Ad
Nic Ad Nic Ad

पहिलो प्रधानमन्त्री महिलाको सम्भावना बोकेका प्राथमिक अनुहारहरू

बिहीबार, भदौ १३, २०८१

काठमाडौं– राष्ट्रप्रमुखमा दुई पटक महिलाले जिम्मेवारी पाइसके पनि कार्यकारी प्रमुख अर्थात् सरकार प्रमुख पनि बन्ने बहस अहिले सतहमा बलियो बनेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले चलाएको यो बहस ०८४ सालसम्मका लागि सान्दर्भिक हुने सम्भावना कम रहे पनि त्यसपछिको स्थितिमा भने असम्भव भने होइन। किनभने राष्ट्र प्रमुख भइसकेकी एमाले नेत्री विद्यादेवी भण्डारी सक्रिय राजनीतिको गोरेटो खोजीरहेकी छन् भने नेपाली कांग्रेसभित्र केन्द्रीय सदस्य, हालकी परराष्ट्रमन्त्री तथा सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाको चर्चा बलियो बन्न थालेको छ। 

ओलीले भनेका थिए,‘चाँडै प्रधानमन्त्रीमा महिलालाई अगाडि ल्याउनुपर्छ भन्ने मान्यतामा छु। यहि मिति भनेर समय तोक्न नसके पनि केही समयमा हुन सक्छ।’

दलगत रुपमा नै हेर्ने हो भने पनि पहिला प्रधानमन्त्री महिला बन्ने सम्भावनाका दुई पात्र अगाडि छन्। ति हुन् सक्रिय राजनीतिमा प्रवेश गरेको अवस्थामा एमालेकी विद्यादेवी भण्डारी अनि राजनीतिक महत्व र उचाईँको कद बढाइरहेकी आरजु राणा देउवा। 

अहिलेको अवस्थामा यी दुवै जना प्रधानमन्त्री बन्ने स्थिति र समयचाहिँ छैन। किनभने यो चर्चा र बहसले साँच्चै परिणाम पाउने हो भने पनि आगामी ०८४ को आम निर्वाचनपछिको अवस्थामा हुन सक्छ। त्यसबेला भण्डारीले एमालेको सक्रिय राजनीति गरी निर्वाचनमा जित निकाल्दै संसदीय दलको नेता बन्नुपर्नेछ भने कांग्रेसमा राणाको अवस्था पनि उही हो।

एमालेमा भने एउटा सुविधा के बलियो हुनेछ भने प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनुपर्ने अनिवार्यता नहुन सक्छ। तर, कांग्रेस विधानले भने प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेतामा निर्वाचित हुनुपर्ने व्यवस्था गरेको छ।

नयाँ दल र माओवादी केन्द्रमा त्यस्ता उम्मेदवारको सम्भावना कम रहेको छ। किनभने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुखसम्म ओनसरी घर्ती मगरलाई बनाए पनि कार्यकारी प्रमुखको हैसियतमा अगाडि सार्ने अनुहार पाएका छैनन्। आफू रहुन्जेल उनले अर्को सम्भावना पनि देखेका छैनन्। 

नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा भने सभापति रवि लामिछानेको महत्वकांक्षा नै प्रधानमन्त्री बन्ने रहेका कारण तत्काल उक्त पार्टी महिलालाई उम्मेदवार बनाउने सम्भावनाको ढोका ढकढकीने स्थिति पनि छैन। कालान्तरमा हुन सक्ने अनुमानसम्म गर्न सकिन्छ। 

यसकारण रहरले भन्दा पनि अब नेतृत्व र प्रधानमन्त्रीको पदमा रहनुपर्ने बाध्यतामा नरहेका कारण एमालेका अध्यक्ष ओली र कांग्रेस सभापति देउवाका उत्तराधिकारीका रुपमा भण्डारी र राणाको सम्भावनाको भविष्यवाणी भने अस्वभाविक बन्दैन।
 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १४:२८
प्रतिक्रिया दिनुहोस्