Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाको प्रश्न - नेपाल एयरलाइन्सका जहाज आर्थिक लेनदेनमा ग्राउन्डेड गराएको त होइन ?

बिहीबार, भदौ १३, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नेपाल एयरलाइन्सका जहाजहरू आर्थिक लेनदेनमा ग्राउण्डेड गराएको हुन सक्ने आशंका गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले नेपाल एयरलाइन्सका सबै जहाजहरू ग्राउन्डेड हुन पुगेको गुनासो जनस्तरमा रहेको बताए ।‘विभिन्न क्षेत्रमा, विभिन्न अन्तर्राष्ट्रिय रुटहरूमा सञ्चालित नेपाली जनतासँग वा पर्यटकलाई बोक्ने रुटहरूमा सञ्चालित कतैपनि हाम्रो ध्वजाबाहक उडिराखेको छैन । नेपाल एयरलाइन्स उडिराखेको छैन’, उनले भने । सी चेकको लागि एक महिनाको मात्रै समय लिएर केही दिन दिल्लीमा राखिएको र त्यसपछि इटाली लगिएको उल्लेख गर्दै उनले थपे, ‘इटालीमा ९० दिन भन्दा धेरै भइसक्यो, जहाँ दैनिक रूपमा हामी ३ हजार भन्दा बढी पार्किङ चार्ज तिरिराखेका छौँ ।’

हाल नेपाल एयरलाइन्सले दैनिक पाँच करोड भन्दा धेरै नोक्सानी बेहोरिरहेको उल्लेख गर्दै उनले नेपाल एयरलाइन्सको जहाज ग्राउन्डिेड हुनुमा कतै आर्थिक लेनदेन छ कि भनेर प्रश्न गरेका हुन् । ‘यो चाडपर्व आउन लागेको बेला कतै अन्तर्राष्ट्रिय अरु कम्पनीले अरु सञ्चालितहरूलाई पैसा र नाफा दिनको लागि सेटिङमा आफ्नो ध्वजावाहकलाई पार्किङमा पुर्‍याइएको हो कि भन्ने पनि आशंका छ’ सांसद झाले भने ।

अथवा सम्बन्धित क्षेत्रसँग अध्ययन नगरेको व्यक्तिलाई नेपाल एयरलाइन्सको जिम्मेवारी दिएकाले यस्तो भएको हो कि भन्ने पनि उनको आशंका छ । ‘अर्को कारण त्यो क्षेत्रसँग सम्बन्धित अध्ययन नगरेको व्यक्तिलाई राजनीतिक वा आर्थिक प्रलोभनमा त्यो पदको जिम्मेवारी दिइएको पनि हो कि १’ उनले भने ।

जे जस्तो कारणले भए पनि नेपाल एयरलाइन्सलाई दैनिक पाँच करोड घाटा भइराखेको दोहोर्‍याउँदै उनले सोधे, ‘राजनीतिक प्रलोभनमा र आफ्नो मान्छेहरूको व्यवस्थापन र केही आर्थिक लेनदेनले गर्दा यो भएको हो ?’

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १४:४०
प्रतिक्रिया दिनुहोस्