Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रतिनिधिसभा बैठक : महँगी नियन्त्रण गर्नुपर्नेमा सांसदको सुझाव

बिहीबार, भदौ १३, २०८१

काठमाडौं– प्रतिनिधिसभामा सांसदहरूले चाडपर्वको मुखमा महँगी बढ्ने भन्दै समयमा महँगी नियन्त्रण गर्न योजना बनाएर कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका छन् । आजको बैठकमा सांसदहरूले चाडपर्व नजिकिएसँगै महँगी बढ्ने भन्दै बजार अनुगमन गर्न सरकारलाई सुझाव दिएका हुन् ।

बैठकको शून्य समयमा सांसद अच्युतप्रसाद मैनालीले दलित भूमिहीन सुकुम्वासीको मुहारमा खुसी आउन नसकेको बताए । ‘मुलुकमा एक लाख ६० हजार भूमिहीन नागरिक छन्, भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई जग्गा उपलब्ध गराउने कानुन बने पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन’, उनले भने ।

सांसद अञ्जली श्रेष्ठले महिला हिंसाको घटना दिनप्रतिदिन बढिरहेको भन्दै यसलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिइन् । सांसद अनिसा नेपालीले बजेट ढिला निकासा हुँदा तोकिएका कार्यक्रम समयमा सम्पन्न गर्न नसकिने बताइन् । सांसद अनितादेवीले किसानले उत्पादन गरेको वस्तुले बजार पाउन नसकेको भन्दै कृषिजन्य वस्तुको बजार सुनिश्चित र बीमाको व्यवस्था हुनुपर्नेमा जोड दिइन् ।

सांसद अर्जुननरसिंह केसीले हवाई दुर्घटना रोक्नका लागि आवश्यक पहल थाल्नुपर्ने सुझाव दिए । सांसद अस्माकुमारी चौधरीले गुठी ऐन समयमा ल्याउनुपर्नेमा जोड दिइन् । सांसद ईश्वरबहादुर रिजालले नेपाली भूमिको संरक्षण हुनुपर्ने बताइन् ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १६:२४
प्रतिक्रिया दिनुहोस्