Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी प्रकरणमा संसदीय समितिको फैसला कुरेर बसिरहेको छु : महामन्त्री थापा

बिहीबार, भदौ १३, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नताको प्रमाण भएकाले नै संसदीय समितिमा नौ घण्टासम्म बयान दिनुपरेको बताएका छन् । उनले त्यसबारे अहिले नै संसदीय समितिको फैसला नआइसकेको भन्दै प्रमाण खोई भनेर खोज्नेहरूलाई त्यतिञ्जेल कुरेर बस्न आग्रह गरे ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले सहकारी ठगी प्रकरणमा लामिछानेको संलग्नताको प्रमाण भएको, संसदीय समिति गठन हुँदा आफूहरुले देखाएका प्रमाणहरु संसदीय समितिलाई बुझाइसकेको बताए ।उनले भने, ‘केही दिनदेखि संसद्‌मा केही साथीहरुले प्रमाण खोई ? प्रमाण खोई ? भनेर खोजिराख्नु भएको पाएँ । त्यत्रो तथ्य, प्रमाणहरु भएरै त होला यत्रो संसद्‌मा संघर्ष गरेर संसदीय समिति हामीले बनाएका छौँ । त्यसको टीओआर हामीले लेख्न लगाएको हो । नाम लेख्न लगाएको हो । कम्पनीको नाम लेख्न लगाएको हो । ती प्रमाणहरु भएकै कारण होला कि नौ मिनेटमा चट् भनेको ठाउँमा ९ घण्टासम्म बयान दिनुपर्ने अवस्था त्यही तथ्य प्रमाण भएकोले नै आएको होला । मलाई त समितिमाथि पूरा विश्वास छ । सुर्य थापाले एकदम मेहनत गर्नुभएको छ । समितिमा भएका सबै साथीहरुमाथि विश्वास छ । बरु साथीहरु झुक्किनुभयो कि भन्ने लागेको छ मलाई । अहिले बयान भएको हो । सफाइ पाएको होइन । फैसला त आउनै बाँकी छ ।’

महामन्त्री थापाले फैसलासम्म कुर्न र फैसला आउने दिनसम्म कुरेर बस्न समेत आग्रह गरे ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १८:२९
प्रतिक्रिया दिनुहोस्