Nic Ad Nic Ad
Nic Ad Nic Ad
सिफारिस 

माओवादी हिंसाकालमा बनाईएको बम विस्फोट हुँदा दुई अबोध बालबालिकाको गयो ज्यान, पवन राई घाइते छन्

शुक्रबार, भदौ १४, २०८१

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराई र माओवादीका नेताहरूबीच प्रतिनिधि सभामा ‘माओवादी हिंसा’ भन्ने शव्दको प्रयोगका विषयमा जुहारी चलिरहँदा पाँचथरमा दुई बालबालिका इन्तु न चिन्तुको स्थितिमा पुगिसकेका थिए।

समाचार कक्षमा दुई परस्पर खबरहरू सम्पादीत हुँदै थिए। यता जुहारीको खबर चलाइरहँदा अर्कातिर दुई बालबालिका दिप्सन र प्रिन्सा साँवाको स्थिति गम्भिर भनी अर्को हेडलाइन तयार भइसकेको थियो। 

पाँचथर फलेलुङ गाउँपालिका–५ को यो खबरको महत्व यसकारण थियो कि त्यहाँ माओवादी हिंसाकालमा निर्मित बम विस्फोट भयो र अबोध बालबालिका गम्भिर घाइते भए। 

उपचारका क्रममा यी दुवै जनाको असामयिक निधन भइसकेको छ। यो दुखदायी छ। सामान्यतया समाचारलाई भावुकताका आधारमा लेखिनुहुन्न भन्ने छ, तर युद्धले थिलथिलो परेको मुलुक र यता संक्रमणकालिन न्याय सम्बन्धी विधेयक प्रमाणिकरण भइरहँदा त्यहि समयमा निर्मित विस्फोटकले दुई अबोधको ज्यान जानुलाई साधारण मान्न सकिएन। सम्पादकले सुझबुझका आधारमा यसलाई भावनात्मक प्रसङ्ग जोड्ने निधो गरेको छ।  

कोशी प्रदेश प्रहरी कार्यालयको ठम्याई छ,‘विस्फोट भएको बम मानव निर्मित थियो र यो हिंसाकालकै थियो।’

‘यो मेसिनले बनाइएको होइन। हेर्दा पुरानो छ। खिया लागेको छ। यो पुरानो हतियार हो’, प्रदेश प्रहरी कार्यालयका अनुसन्धान अधिकारी भन्छन्,‘यो हिंसाकालको हो भनी दाबीका साथ भन्न सक्ने आधार छन्।’

विस्फोट भएको बस्तु सकेट बम हो। 

‘सकेटहरू प्रयोग गरेर घरमा बनाएको हतियार हो, द्वन्द्वका बेला छुटेको हुन सक्छ’, प्रहरीको दाबीपूर्ण अनुमान छ। 

बम विस्फोट भएपछि खोजतलास गर्दा सोही ठाउँमा अर्को पनि शङ्कास्पद बस्तु फेला परेको थियो। नेपाली सेनाको टोलीले उक्त बस्तुलाई डिस्पोज गर्दैछ।

माओवादी हिंसा कालका अवशेष अहिले पनि गाउँ–गाउँमा खेलाउने सामग्रीका रुपमा भेटिन थालेका छन्। यसले द्वन्द्व त के जनआन्दोलन, गणतन्त्रलगायतका विषयसँग पर परको साइनो नभएका अबोध बालकालिकाको ज्यान गइरहेको छ।

यस्ता चिजको खोजी गरी व्यवस्थापन गर्नुको साटो हिंसा भन्ने शव्दका नाममा सदनमा जुहारी चलाइनु निक्कै दुखदायी स्थिति छ। यहि बेला माओवादीको नेतृत्व सत्ताबाट ओर्लिएको पीरमा हिंसात्मक अभिव्यक्तिमा पनि उद्दत छन्। अरु कोही नभएर यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै नेपाल बंगलादेश या श्रीलंकको स्थितिमा पुग्ने टिप्पणी गरिरहेका छन्। 

पाँचथरको घटनामा एक अर्का बालक पवन राई घाइते छन्। स्मरण होस् प्रश्न– हिंसाको डोभमा यसरी बालबालिकाले कहिलेसम्म ज्यान गुमाउनु पर्ने हो?    

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्