Nic Ad Nic Ad
Nic Ad Nic Ad

अलपत्र हाटबजार तीन महिना भित्र सञ्चालन गर्न संसदीय समितिको निर्देशन

शुक्रबार, भदौ १४, २०८१

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको सार्वजनिक लेखा समितिले कैलालीमा अलपत्र परेका कृषि हाटबजारहरू तीन महिनाभित्र सञ्चालन गर्ने निर्देशन दिएको छ ।

२०७६-०७७ मा निर्माण भएका कैलालीका सात मध्ये छ वटा हाटबजार विगत पाँच वर्षदेखि बन्द रहेका छन् ।सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदानमा बनेका हाटबजारबारे महालेखा परीक्षकको प्रतिवेदनमा बेरुजु देखिएपछि समितिले छानबिन सुरु गरेको थियो ।

तीन दिनसम्म गरेको अनुगमनमा कैलालीका एउटाबाहेक सबै हाटबजार अलपत्र भेटिएको थियो । पाँच वर्षअघि निर्माण भएर प्रयोगविहीन रहेका हाट बजारहरू तीन महिनाभित्र सञ्चालन ल्याउन निर्देशन दिएको छ ।

प्रदेश सरकारको एक करोड बढी लागतमा निर्माण भएका हाट बजार संरचना तीन महिनाभित्र सञ्चालन गर्न लेखा समितिले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई निर्देशन दिएको समितिका सदस्यले जानकारी दिए ।

बैठकमा सार्वजनिक लेखा समितिका सदस्यहरूले प्रदेश सरकारको अनुदानमा बनेका कैलालीको टीकापुर, लम्कीचुहा नगरपालिका गोप्का, बर्दगोरिया गाउँपालिका, घोडाघोडी र गौरीगङ्गा नगरपालिका तथा धनगढी उपमहानगरपालिका-१८ को हाट बजार निर्माणमा आर्थिक दुरुपयोग भएको देखिएको बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्