Nic Ad Nic Ad
Nic Ad Nic Ad

खोटाङमा चट्याङ लागेर तीनजना गम्भीर घाइते

शनिबार, भदौ १५, २०८१

काठमाडौं– खोटाङमा गएराति परेको चट्याङका कारण ऐँसेलुखर्क गाउँपालिका–३ मा तीन जना गम्भीर घाइते भएका छन् ।

ऐँसेलुखर्कस्थित पातेलका मोहन भुजेलका २१ वर्षीय छोरा डेनिस भुजेल र दुर्गानाथ भुजेलकी ६ वर्षीया छोरी अनिसा भुजेल तथा ओडारेका टेकबहादुर दर्जीकी १५ वर्षीया छोरी समीक्षा दर्जी घाइते भएका हुन् ।

डेनिस र अनिसा (काका भतिजी) आफ्नै घरमा बसिरहेको अवस्थामा र समीक्षा आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङले गम्भीर घाइते भएको स्थानीयले बताएका छन् ।

चट्याङले गम्भीर घाइते भइ बेहोस बनेका तीनैजनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्क पु¥याइएको उद्धारमा संलग्न प्रहरीले जनाएको छ ।


तीनैजनाको अहिले प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्कमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय ऐँसेलुखर्कका प्रमुख प्रहरी निरीक्षक हरि बरालले जानकारी दिए ।

चट्याङले विद्युतीय सामग्रीमा ठूलो क्षति गरेको ऐँसेलुखर्क गाउँपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिए । चट्याङले विद्युतको मिटरबक्स, टेलिभिजन, विद्युतीय बल्ब, कुर्सी, टेबललगायतका सामग्री समेत जलेको बताइएको छ ।

चट्याङबाट स्थानीय बासिन्दालाई जोगाउन यसअघि गाउँपालिकाले विभिन्न ठाउँमा अर्थिङसमेत गरेको थियो ।

अघिल्लो जनप्रतिनिधिका पालामा गाउँपालिकाको लगानीमा विभिन्न ठाउँमा अर्थिङ गरिए पनि यस वर्ष चट्याङले ठूलोमात्रामा क्षति गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्