भौतिकमन्त्री दाहालबाट मुग्लिन–पोखरा सडक योजनाको अनुगमन
तनहुँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाको अनुगमन गरेका छन् ।
दाहालले शुक्रबार साँझ मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) अन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुने र पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरासम्मको सडकको स्थलगत अनुगमन गरेका हुन् ।
मन्त्री दाहालले आयोजनाको प्रगतिबारे चासो राख्दै बाँकी कामलाई तीव्रता दिन निर्देशन दिए । उनले आयोजनाको काममा आइपर्ने समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै काममा ढिलासुस्ती नगर्न आग्रह गरे ।
मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगतिबारे मन्त्री दाहाललाई जानकारी गराए । यो खण्डमा हालसम्म ६५ प्रतिशत प्रगति भएको पाण्डेको भनाइ छ ।
प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१ १२:३९
प्रतिक्रिया दिनुहोस्