रूपान्तरणको कठिन घडीमा महानगर प्रहरीले अग्रपङ्तिमा रहेर भूमिका निर्वाह गरेको छ : बालेन साह
काठमाडौँ - रूपान्तरणको कठिन घडीमा महानगर प्रहरी वलको भूमिका अग्रपङ्तिमा रहेको बताउँदै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले, विकासोन्मुख मुलुकका सहरहरूलाई व्यवस्थापन गर्ने चुनौतीपूर्ण काममा महानगर प्रहरी बलले अनुकरण योग्य काम गरेको धारणा राखेका छन् ।
३२ औँ महानगर प्रहरी दिवसका अवसरमा बोल्दै उनले विकासले विनाश गरेको प्रकृतिलाई पुनः स्थापनामा प्रहरीको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरे । ‘अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गराउने, पुरिएको तथा छोपिएको नदीलाई खुला गराउने, सडक व्यापारलाई निषेध गर्ने, सडक सहयोगापेक्षी मानव व्यवस्थापन, सुन्दरता जस्ता क्षेत्रमा महानगर प्रहरी बलले गरेका काम, देश र दक्षिण एसियाली मुलुकहरूकै लागि सिकाइ बनेको छ ।’ प्रमुख शाहले धारणा राखे ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले प्रहरीले गर्ने कामका विषयमा नागरिकलाई जानकारी दिन सकियो भने आपसी सम्बन्धमा रहेर काम गर्न सकिने बताए ।