Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘सामाजिक व्यवहारमा सुधार आवश्यक छ’

शनिबार, भदौ १५, २०८१

काठमाडौँ- मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले महिला तथा बालिकामाथि भइरहेको सामाजिक व्यवहार सुधार जरुरी रहेको बताएका छन्। शुक्रबार जनकपुरधाममा आयोजित कार्यक्रममा उनले भने, “सामाजिक व्यवहार सुधार गर्न सामूहिक प्रयत्नको खाँचो पर्दछ ।”

कार्यक्रममा बालविवाह र उमेर नपुगी गरिने विवाह न्यूनीकरणका लागि स्थानीय प्रणाली सुदृढीकरण परियोजनाका क्रममा भएका सिकाइ र अनुभव आदानप्रदान गरिएको थियो ।  बालविवाह रोक्ने नेपाल सरकारको नीतिमा सहयोग गर्न अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको सहयोगमा ‘ब्रेक थ्रु एक्सन’ले मधेस प्रदेशमा सन् २०२० देखि २०२४ सम्म बालविवाह, उमेर नपुगी र जबरजस्ती गरिने विवाह न्यूनीकरण (आरसीइएफएम) परियोजना कार्यान्वयन गरेको थियो ।स्थानीय सरकारको बालविवाह, उमेर नपुगी र जबरजस्ती गरिने विवाह न्यूनीकरणका लागि योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन गर्ने क्षमता सुदृढ गर्ने कार्यादेश अनुरूप यो परियोजनाले समुदायमा आधारित, सर्वपक्षीय समन्वय तथा तथ्यमा आधारित बालबालिकालाई बालविवाह, उमेर नपुगी र जबरजस्ती गरिने विवाहबाट  जोगाउनका लागि स्थानीय प्रणाली सुदृढ गर्ने काम गरेको छ ।

परियोजनाले रौतहटको दुर्गा भगवती गाउँपालिका र राजपुर नगरपालिका तथा महोत्तरीको जलेश्वर, मटिहानी, लोहारपट्टी नगरपालिका र पिपरा गाउँपालिका गरी छ पालिकासँग सहकार्य गरेको थियो । बालविवाह, उमेर नपुगी र जबरजस्ती गरिने विवाह न्यूनीकरण गर्न गाउँ/नगरपालिका तथा वडाका जनप्रतिनिधि, धार्मिक र सामुदायिक अगुवा, स्थानीय एवं वडा बाल अधिकार समितिका सदस्य, अभिभावक, शिक्षक र किशोरीले पहिलो पटक सहकार्य गर्दै यो अभियानको नेतृत्व गरेका छन् ।

मधेस प्रदेशमा ‘ब्रेक थ्रु एक्सन’को स्थानीय प्रणाली–सुदृढीकरण परियोजनाले कार्यान्वयनको तीन वर्षको अवधिमा नगरपालिकाहरूलाई बालविवाह, उमेर नपुगी र जबरजस्ती गरिने विवाह न्यूनीकरणका लागि बाल संरक्षण प्रणालीसहित क्षमता अभिवृद्धि तथा परामर्श दिएर दुई हजार पाँच सय नौ सामुदायिक सरोकारवालालाई परिचालन गर्न सहयोग गरेको थियो । 

सोही अवधिमा गाउँ/नगरपालिका तथा वडाले सञ्चालन गर्ने गतिविधिमा सक्रिय रूपमा सहभागी हुन ६८ बाल क्लबलाई सहयोग प्रदान गरेको छ । अनुभव आदानप्रदान कार्यक्रममा पालिकाहरूले गरेको कामका लागि सम्मान गरिनुका साथै पालिकाबाट आएका विभिन्न सरोकारवालाले आफ्ना अनुभव बताएका थिए ।

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १६:०३
प्रतिक्रिया दिनुहोस्