Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रक्षेपणः एक्ला–एक्लै चुनावमा जाँदा यी हुन् माओवादीले जित्न सक्ने ६ जिल्ला 

आइतबार, भदौ १६, २०८१

काठमाडौं– राष्ट्रिय राजनीतिमा ओरालो लागेको नेकपा माओवादी केन्द्रको चुनावी दायरा एकपछि अर्को पटक खुम्चिएको खुम्चियै छ। 

जनाधार बलियो बनाउन नसक्दा कमजोर बनिरहेको माओवादी काठमाडौं उपत्यका, मधेस र तराई पहाडका जिल्लामा सोत्तर हुने क्रममा छ। 

‘अब एक पटक फेरि ०६४ सालको जस्तो जुर्मुराउन पर्ने भयो। हामी सत्तामा रहेर जनतामा पुग्न सकेनौं, आत्मसमिक्षा गरौं’, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आधिकारिक बैठकहरूमा भनिरहेका छन्,‘अब जनतामा नै जाने हो। जनमत बढाउने हो।’

सत्ता बाहिर आएपछि स्थायी समिति बैठकमा निर्मम समिक्षा गरेपछि अहिले प्रचण्ड पार्टीलाई अझ गतिशील बनाउनका लागि विभिन्न प्रदेशका परिषद बैठक सम्बोधन गरिरहेका छन्। 

यो क्रम जारी नै छ। 

तर यति हुँदाहुँदै पनि माओवादीको संकुचन यात्रा रोकिनेवाला छैन। किनभने जुन दायरामा नयाँ दलका संगठन विस्तार कायम छन्, त्यसले माओवादीलाई नै क्षति गरिरहेको विश्लेषण गरिन्छ। 

‘माओवादीले जित निकाल्न सक्ने कतिपय जिल्लामा अहिले नेकपा एकीकृत समाजवादी पार्टी बलियो बन्न थालेको छ। किनभने ति जिल्लामा उसका सांसदको प्रभाव छ’, समाजवादीका एक नेता भन्छन्,‘यसैले एकीकरण भएको हकमा त्यसको जस माओवादीले पाउन सक्ला तर भएन भने सम्भावना कम छ।’

जनमत सर्वनाश हुने स्थितिमा पुगेपछि प्रचण्डले चुनावी गठबन्धनीय शैलीको बाटो अपनाएर पार्टीलाई तेस्रो बनाउँदै ३२ सिटको खुम्चनमा प्रतिनिधि सभामा उपस्थित गराएका छन्। यद्यपि अनेक प्रकारका राजनीतिक खेलका कारण राष्ट्रिय सभामा माओवादी पहिलो भने बनिसकेको छ।

तर जनस्तरमा भने माओवादी सीमित जिल्लामा खुम्चिन सक्ने अनुमान गत निर्वाचनका आधारमा गरिएको हो। गत निर्वाचनमा सबैतिर समानुपातिक मतमा कमजोर रहेको माओवादी जम्मा ६ जिल्लामा मात्र बढाउन सफल भएको पाइयो। 

मुस्ताङ, म्याग्दी, रसुवा, रुकुम पश्चिम, गोरखा लगायतका जिल्लामा भने माओवादी केन्द्रको मत थोरै बढेको छ। यसमा रोल्पालाई पनि जोड्न सकिन्छ। उसले जुम्ला गुमाइसकेको छ। रोल्पा उपमहासचिव बर्षमान पुनः र रुकुम पश्चिम अर्का उपमहासचिव जनार्दन शर्माको क्षेत्र हो। 

सबभन्दा धेरै प्रतिशत समानुपातिक मत बढेको मुस्ताङमा देखिन्छ। २०७४ मा १२९ मत पाएको माओवादीले यो पटक ९८९ पाएको थियो। म्याग्दीमा पनि ११.१ प्रतिशत मत बढेको थियो। अघिल्लो पटक ४ हजार ३०३ मत पाएको थियो भने अहिले ९ हजार ७० पाएको थियो। कूल सदर मतमा माओवादीको हिस्सामा ११.१ प्रतिशत बढोत्तरी भएको छ।

यस हिसाबले हेर्ने हो भने माओवादीले अहिले सोलिड जित निकाल्न सक्ने जम्मा ६ जिल्ला मात्र देखिन्छ। पार्टीका कार्यक्रम र तिव्रताका कारण अन्य केही जिल्ला थप गर्न सक्ने अनुमान गरिए पनि अब माओवादीप्रति जनताको चाह भड्किसकेको बरु अन्य नयाँ दलप्रति रुची बढ्न सक्ने पनि प्रक्षेपण गरिन्छ।
 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार