Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्ड आफैंले देखेका छैनन् पार्टी हाँक्न सक्ने अर्को पुस्ता, प्रमाण यस्तो छ

आइतबार, भदौ १६, २०८१

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैंले अहिलेसम्म उत्तराधिकारी फेला पार्न सकेका छैनन्। पार्टीमा होनाहार नेता भए पनि उनले फुत्त टिका लगाएर अध्यक्ष पद दिने अवस्थाको मान्छे नै नभएको जिकिर गरेका छन्। 

आइतबार पश्चिम नेपालमा भएको पत्रकार सम्मेलनमा प्रचण्डले भने,‘उत्तराधिकारी तयार गर्दैछु। अहिले नै कसलाई दिने भन्ने चिज टिका लाएर दिने होइन। यसमा विधि, पद्दती र प्रक्रियाले तयार गर्नुपर्छ।’

नेता भन्ने चिज यसै नहुने बताएका उनले लामो समयसम्म नेतृत्वमा बस्ने रहर नरहेको बताए पनि विकल्प समेत नदेखेको बताउनुको अर्थचाहिँ बुझ्न नसकिएको माओवादी नेताहरु नै बताउँछन्। 

पार्टीमा उपमहासचिव बर्षमान पुन, जनार्दन शर्मालगायतका नेता हुँदा पनि प्रचण्ड त्यस्तो विकल्प देख्दैनन्। 

आफूलाई अध्यक्ष भइरहने रहर नभएको उनले दाबी गरे। तर आफूले छाड्दा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण भइहाल्छ भन्ने नलागेको उनको भनाइ छ।

‘अब मलाई पार्टीमा अध्यक्ष भइरहने रहर छैन। मेरो लागि अध्यक्षभन्दा प्रचण्ड भन्ने नै ठूलो छ’, उनले भने, ‘तर अहिले नै नेतृत्वबाट यताउता गर्न पाउनुहुन्न भन्ने कायकर्ता पङ्क्तिको ठूलो प्रेसर छ।’

आफ्नो नेतृत्वको बचाऊमा प्रचण्डको यो प्रासङ्गीक भनाई थियो। जबकि उनलाई विभिन्न बैठकमा चुनौती नभएका होइनन्। 

माओवादीमा पुस्तान्तरणको बहस बलियो बन्यो। खासगरी स्थायी समिति बैठकमा यो बहसलाई जनार्दन शर्माले छेडेका थिए। यहाँसम्मकी सार्वजनिक मञ्चमा प्रचण्डमाथि सिधा प्रश्न गर्न सक्ने हाँक लिएर शर्मा उपस्थित भए। 

उनले भनेका थिए,‘कांग्रेससँग कुरा मिलाउनुस् भन्नुभयो, त्यता कुरा गरें म कांग्रेस र शेरबहादुरजीको भएँ। एमालेसँग कुरा गर्नुस् भन्नुभयो त्यता पनि कुरा मिलाएँ म केपीजीको मान्छे भएँ। म माओवादीको कहिले हुने हो, तपाईको कहिले हुने हो, अध्यक्ष कमरेड!’

यहाँसम्मकी शर्माले पार्टी विभाजन गर्नेसम्मको हल्ला खुमलटारबाट प्रचारित भएको विषय सतहमा आएको थियो। तर, यस विषयको भने प्रचण्डले बचाऊ गरेका छन्। उनले भने,‘पार्टी विभाजनको हल्ला भने भ्रम हो, त्यस्तो छैन। एक ढिक्का भएर जाने हो।’
 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ११:३१
प्रतिक्रिया दिनुहोस्