Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रस्तावित १७ राजदूतको सुनुवाइ आजदेखि

आइतबार, भदौ १६, २०८१

काठमाडौं - सरकारले विभिन्न १७ देशका लागि प्रस्ताव गरेका राजदूतहरुको सुनुवाइ आजदेखि सुरु हुँदैछ । संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतमध्ये आज पहिलो दिन आइतबार ४ जनालाई बोलाएको छ । प्रस्तावित राजदूतविरुद्ध उजुरी दर्ता गराउनेहरूसँग छलफल भइसकेकाले समितिले आजदेखि सुनुवाइ प्रक्रिया अघि बढाउन लागेको हो ।

समितिमा चार व्यक्ति लक्षित र ५ सैद्धान्तिक गरी ९ वटा उजुरी परेका छन् । मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिमिल्सिना, इजरायलका लागि धनप्रसाद पण्डित, भारतका लागि शंकरप्रसाद शर्मा र दक्षिण अफ्रिकाका लागि प्रस्तावित प्राडा कपिलमान श्रेष्ठविरुद्ध उजुरी परेको हो ।

उनीहरुको कूटनीतिक क्षमता र ज्ञान, योग्यता, अनुभव तथा समानुपातिक र समावेशिताका साथै राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ को पालना नभएका विषय उठान गरी समितिमा उजुरी परेका छन् । १३ जनाविरुद्ध भने कुनै उजुरी परेको छैन ।

पहिलो दिन चीनका लागि प्रस्तावित प्राडा कृष्णप्रसाद ओली, भारतका लागि शर्मा, जर्मनीका लागि डा. शैल रूपाखेती र डेनमार्कका लागि प्रस्तावित सुम्निमा तुलाधरकाे सुनुवाइ हुनेछ ।

त्यसपछि क्रमशः इजरायलका लागि प्रस्तावित पण्डित, मलेसियाका लागि तिमिल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान र साउदी अरबका लागि प्रस्तावित नरेशविक्रम ढकाललाई सुनुवाइका लागि बोलाउने कार्ययोजना रहेको समिति सभापति ईश्वरी न्यौपानेले जानकारी दिए ।

त्यस्तै, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, दक्षिण अफ्रिकाका लागि श्रेष्ठ, स्पेनका लागि सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, बेलायतका लागि चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि प्रस्तावित लोकदर्शन रेग्मीलाई सुनुवाइमा बोलाउने तयारी छ ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ११:५९
प्रतिक्रिया दिनुहोस्