Nic Ad Nic Ad
Nic Ad Nic Ad

देउवा अब प्रधानमन्त्री बन्नु हुँदैन : विश्वप्रकाश शर्मा

आइतबार, भदौ १६, २०८१

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न नहुने बताएका छन् ।

आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले सभापति देउवालाई प्रधानमन्त्री नबन्न र त्याग गर्न आग्रह गरेका हुन् । काँग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीपछि देउवा प्रधानमन्त्री बन्ने समझदारी भइसकेको छ ।प्रतिनिधि सभामा काँग्रेसबाटै एक से एक अग्रज नेता रहेको भन्दै उनीहरूमध्ये कसैलाई प्रधानमन्त्री बनाउनुपर्ने शर्माले बताए ।

‘उहाँहरू मध्ये कसैलाई पनि हामीले प्रधानमन्त्री बनायौँ भने-एक, सभापतिको त्याग देखिन्छ । दुई, उहाँको समकालीन कोही नेतालाई न्याय र कदर हुन्छ । तीन, तब ०८४ पछि हामी नयाँ अनुहारमा पुग्नेछौँ’, शर्माले भने ।

शर्माले डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा. शशांक कोइराला र अर्जुननरसिंह केसीमध्ये एकलाई प्रधानमन्त्री बनाउन देउवालाई सुझाव दिए ।

देउवासँग आग्रह गर्दै भने, ‘एमाले अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारलाई र उहाँको नेतृत्वलाई सफल बनाउन काँग्रेसले सम्पूर्ण ध्यान लगाउनुपर्छ र एकताबद्ध रूपले साथ दिनुपर्छ । तर त्यसपछि सभापति देउवा प्रधानमन्त्री बन्नुहुन्न ।’

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १८:४२
प्रतिक्रिया दिनुहोस्