डेङ्गी सङ्क्रमण बढ्दै, कीट व्यवस्थापनमा समस्या
काठमाडाैं - लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेङ्गी रोगबाट सुदूरपश्चिम प्रदेशमा तीन सय ३४ जना सङ्क्रमित भएका छन् । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार पछिल्लो डेढ महिनामा मात्रै एक सय ७३ जनामा सङ्क्रण भएको छ । प्रदेशको कैलाली जिल्लामा सबैभन्दा बढी डेङ्गीबाट अहिलेसम्म ८६ जना सङ्क्रमित छन् ।
यस्तै, अछाममा ६७, डोटीमा ५५, कञ्चनपुरमा ४७, दार्चुलामा २४, बाजुरामा १९, बैतडीमा १८, डडेलधुरामा १३ र बझाङमा पाँच जना सङ्क्रमित छन् । गत पुस महिनामा प्रदेशभरिमा १३ बिरामी फेला परेकामा त्यसयता सङ्क्रमण निरन्तर बढ्दै गएको छ । सबैभन्दा बढी अगस्तमा ८८ व्यक्तिमा सङ्क्रमण देखिएको छ ।
कैलालीको गोदावरी नगरपालिका, स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले डेङ्गी रोकथामका लागि वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयलगायतको संयुक्त पहलमा लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान सञ्चालन भइहेको बताए । “यसबाहेक लामखुट्टेको वृद्धि हुन नदिन शुक्रबारका दिन हरेक विद्यालय, स्वास्थ्य चौकी र वडा कार्यालय आसपास सरसफाइसमेत गर्ने गरिएको छ”, उनले भने ।
शङ्कास्पद बिरामी जाँच गर्न आवश्यकताअनुसार कीटको व्यवस्थापन हुन नसक्दा बिरामीको पहिचानमा भने केही समस्या देखिएको स्वास्थ्य शाखा प्रमुख अवस्थीको भनाइ छ । उनले भने, “आवश्यकतानुसार कीटको व्यवस्थापन नहुँदा कतिपय समयमा शङ्कास्पद बिरामी पहिचान गर्नमा समस्या भएको छ ।”