Nic Ad Nic Ad
Nic Ad Nic Ad

सम्पदा संरक्षण विषयमा स्नातक तहमा अध्ययन अध्यापन हुने

आइतबार, भदौ १६, २०८१

भक्तपुर – सम्पदा संरक्षणका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले नेपालमै पहिलोपटक स्नातक तहमा सांस्कृतिक सम्पदा संरक्षणको अध्ययन अध्यापन हुने भएको छ ।

भक्तपुरस्थित रवीन्द्र पुरी फाउन्डेसन फर कन्जरभेसन (आर.पी. फाउन्डेसन)ले काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा सम्पदा संरक्षण विषयमा चारवर्षे स्नातक तहको अध्ययन–अध्यापन यसै वर्षदेखि सुरु गर्ने भएको हो ।

आज यहाँ आयोजित एक कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले अध्ययन अध्यापन कार्यको उद्घाटन गरे । उनले नेपालमै पहिलोपटक सम्पदा संरक्षणमा स्नातक तहमा पढाइ सुरु हुनु खुसीको विषय भएको बताए ।

सम्पदा संरक्षणको क्षेत्रमा नयाँ र दक्ष जनशक्ति उत्पादनका लागि अध्यापन सुरु गर्न आफूले भूमिका खेले पनि अब यसबाट लाभ लिन सबै पक्षको योगदान जरुरी रहेको धारणा राखे । उनले सैद्धान्तिक कुराका साथै स्थलगत अभ्याससमेत गरिने यस विषयले सम्पदाको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न नयाँ फड्को मार्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपालका लागि जर्मनी राजदूत डा थोमस प्रिन्जले यस कार्यले भक्तपुरका उत्कृष्ट सम्पदाहरूको संरक्षणसँगै नेपालका सम्पदाबारे जान्न नयाँ पुस्ताका लागि अवसर भएको बताए ।

फाउन्डेसनका प्रमुख एवं सम्पदाविद् रवीन्द्र पुरीले नयाँ पुस्तालाई सम्पदा संरक्षणमा आकर्षित गराएर देशको दक्ष जनशक्ति उत्पादन गर्न काठमाडौँ विश्वविद्यालयसँगको सम्बन्धन र सहयोगले कार्यत्रम सुरु भएको बताउनुभयो । हरेक वर्ष २० देखि ४० जना जनशक्ति उत्पादन गरिने भन्दै उनले यस वर्ष २० जनाका लागि भर्ना प्रक्रिया सुर गरिएको जानकारीसमेत दिए ।

पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले सम्पदा संरक्षण क्षेत्रमा जनप्रतिनिधिलाई समेत आवश्यक ज्ञान दिन यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले नगरपालिकाले यहाँको सम्पदा पूजा पद्धतिको अभिलेखीकरण सुरु गरेको बताउँदै यसमा सबैको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयअन्तर्गत स्कूल अफ इन्जिनियरिङका डिन प्राडा मनिष पोखरेलले यहाँका अमूल्य मूर्त तथा अमूर्त सम्पदाको संरक्षणमा अध्ययन अध्यापन कार्य कोसेढुङ्गा साबित हुने बताए।

सम्पदाप्रेमी कनकमणि दीक्षितले हराएका मूर्ति फिर्ता ल्याउने काममा मात्रै नभई कला, संस्कृति र सम्पदाको संरक्षणमा लामो समयदेखि लाग्दै आएका रवीन्द्र पुरीले राज्यले गर्नुपर्ने कार्य गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो । कला, संस्कृति र सम्पदाको संरक्षणमा सबैले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

पुरातत्व विभागकी निर्देशक सौभाग्य प्रधानाङ्गले सम्पदा संरक्षणमा सीपयुक्त, अध्ययनशील र दक्ष कामदारको अभावलाई पढाइले पूरा गर्ने विश्वास व्यक्त गरे । उनले २०७२ सालको भूकम्पले सम्पदा संरक्षणमा दक्ष जनशक्तिको अभाव खड्किएको अवस्थामा नेपालमै हुने यस अध्ययनले आगामी दिनमा सम्पदा संरक्षण र अभिलेखीकरणमा टेवा पुग्ने बताए।

कार्यक्रममा वास्तुकला विभागकी प्रमुख प्राडा विन्दु श्रेष्ठले मल्लकालीन समयमा भएको वास्तुकलाको विकासपछि हालसम्म भएको अभाव पूर्तिका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन हुने बताए ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  २०:४२
प्रतिक्रिया दिनुहोस्