Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘पूर्णबहादुरको सारंगी’ टिजरमा बुवा र छोराको कथा

आइतबार, भदौ १६, २०८१

काठमाडौं - विजय बराल र प्रकाश सपूतको शीर्ष भूमिका रहेको फिल्म ‘पूर्णबहादुरको सारंगी’को टिजर सार्वजनिक भएको छ । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेको फिल्मलाई सरोज पौडेलले निर्देशन गरेका हुन् ।

फिल्मको टिजरमा मुख्य पात्र विजय बराल र प्रकाश सपूत फिचर्ड छन् । सोसल–ड्रामा जनरा निर्माण भएको फिल्मले गन्धर्व परिवारको कथा भन्छ । गरिबीका कारण बुवाले झेल्नु परेको अभाव, छोराले पाएको शैक्षिक सफलता र बिछोडको पीडा टिजरमा समेटिएको छ ।

एक मिनेट ५० सेकेन्ड लामो टिजरले अभिभावकले आफ्नो सन्तानको प्रगति र खुसीका लागि गर्ने त्याग र संघर्ष तथा त्यसले दिने उपलब्धि समेटेको छ ।

महेश दवाडीको पटकथा तथा संवाद रहेको फिल्ममा सरोज पौडेलकै लेखन छ । फिल्ममा विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिशा बास्तोला, श्याम केसी, जानवी पौडेल लगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्मका निर्माता विनोद पौडेल र प्रतीक सुवेदी हुन् । फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् । फिल्ममा प्रशान्त सिवाकोटीको संगीत र हेमन्त कान्छा रसाइलीको सारङ्गी वादन छ ।

‘पूर्णबहादुरको सारंगी’लाई नेपाल र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दैछ ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  २०:५२
प्रतिक्रिया दिनुहोस्