जनप्रतिनिधिबाट सुरक्षा थ्रेट भएको भन्दै जीतपुरसिमराका कर्मचारी आन्दोलनमा
बारा- बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा वडा सचिवहरूको आन्तरिक सरुवाको विषय विवादित बनेको छ । वडा सचिवहरूको सरुवालाई लिएर जनप्रतिनिधिहरूले प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको कार्यकक्षमा हुल हुज्जतसहित अव्यवहारिक रूपमा प्रस्तुत भएको भन्दै कर्मचारीहरूले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
जनप्रतिनिधिबाट सुरक्षा थ्रेट भएको भन्दै कर्मचारीहरूले सहज वातावरण नभएसम्म काम गर्न नसकिने बताएका छन् । जनप्रतिनिधिबाटै कर्मचारीमाथि असुरक्षा बढ्दै गएकोले सुरक्षाको प्रत्याभूति नभएसम्म अत्यावश्यक सेवा बाहेक सबै काम बन्द गर्ने उनीहरूको भनाइ छ ।कर्मचारीहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा २(ज) बमोजिम गरिएको सरुवाको विषयलाई लिएर प्रमुख प्रशासकीय अधिकृतलाई गालीगलौज गर्नु अत्यन्तै खेदजनक भएको उल्लेख छ । ‘उक्त घटनाले हामी सम्पूर्ण कर्मचारीहरू असुरक्षित भएको र निर्धक्क भई जनताको सेवा प्रवाह गर्ने अवस्था छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यसरी जनप्रतिनिधिहरूद्वारा कर्मचारीमाथि भयावह स्थिति सिर्जना गर्ने व्यवहारले कर्मचारीको मनोबल खस्किने र सेवा प्रवाहमा समेत प्रत्यक्ष असर पर्ने ब्यहोरा जानकारी गराउँछौँ ।’
आगामी दिनमा कार्यस्थलमा सुरक्षाको प्रत्याभूति दिलाउन, सेवामा सहज काम गर्ने वातावरण बनाउन एवं भयरहित वातावरणमा सेवा प्रदान गर्ने सुनिश्चितता गर्न कर्मचारीहरूले माग गरेका छन् ।
उपमहानगरपालिका तथा मातहतका कार्यालयहरूबाट प्रदान गरिने आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू सोमबारबाट बन्द गरिने उनीहरूको भनाइ छ । कर्मचारीहरूले आफ्नो आन्दोलनबारे नगरप्रमुख राजन पौडेललाई पत्र बुझाएर जानकारी समेत गराएका छन् ।