Nic Ad Nic Ad
Nic Ad Nic Ad

तारा एयरले पुनः पोखरा-जोमसोम उडान गर्ने

सोमबार, भदौ १७, २०८१

काठमाडौँ- प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा-जोमसोम रुटमा मंगलबारबाट नियमित उडान हुने भएको छ । तारा एयरले १८ भदौ मंगलबारबाट नियमित गर्ने भएको हो । पर्यटक सिजन सुरु हुन लागेको र मौसम पनि खुल्ने समय सुरु भएकाले उडान नियमित हुन लागेको कम्पनीले जनाएको छ ।

जोमसोमको नियमित उडानका लागि तारा एयरले एउटा जहाज पोखरामै रात्रि बिसान गर्ने छ । हालका लागि मौसम अनुकूल भए दैनिक पाँच उडान गर्ने गरी तालिका मिलाइएको छ । तारा एयरको उडान पोखराको पुरानो एयरपोर्टबाट नै सञ्चालन हुनेछ । मुस्ताङस्थित जोमसोम विमानस्थल समुद्री सतहबाट २ हजार ७ सय ३६ मिटर उचाइमा र लम्बाइ ७ सय ३९ मिटर छ ।यसैगरी पर्यटक सिजनका लागि तारा एयरले रामेछाप-लुक्ला-रामेछापका लागि ४ असोज अर्थात् २० सेप्टेम्बरदेखि नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ । सगरमाथा क्षेत्र जाने पर्यटकका लागि विभिन्न वायुसेवा कम्पनीले रामेछाप मन्थली विमानस्थलबाट सोलुखुम्बु लुक्लासम्म पर्यटक सिजनमा उडान गर्दै आएका छन् ।

यो सिजनका लागि ताराका दुई ट्विनअटर जहाजले मन्थली विमानस्थलबाट लुक्लाका लागि दैनिक १० देखि १५ उडान गर्ने तालिका राखेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यधिक हवाई ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सहरूले मन्थली आधार बनाइ लुक्लाका लागि उडान भर्दै आएका हुन् ।

रामेछाप विमानस्थलमा ताराका दुइटै जहाज रात्रि बिसान गरी १५ डिसेम्बरसम्म नियमित उडान गर्ने तालिका रहेको जानकारी कमपनीले दिएको छ । ताराले मन्थलीदेखि लुक्लाका साथै काठमाडौँदेखि लुक्ला, फाप्लु, पोखराबाट जोमसोम तथा नेपालगञ्जबाट रारा, हुम्ला, बाजुरा, जुम्ला, डोल्पा लगायत दुर्गम क्षेत्रमा समेत उडान सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्