Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रस्तावित चार राजदूतको संसदीय सुनुवाइ

सोमबार, भदौ १७, २०८१

काठमाडाैं -संसदीय सुनुवाइ समितिले इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगलका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गरेको छ ।

समितिको आजको बैठकले प्रस्तावित राजदूत क्रमशः प्रा धनप्रसाद पण्डित, डा नेत्रप्रसाद तिमिल्सेना, रिता धिताल र प्रकाशमणि पौडेलको संसदीय सुनुवाइ गरेको हो । गत साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो ।

बैठकमा उहाँहरूले आ–आफनो अनुभव, सोच र अवधारणा प्रस्तुत गर्दै नेपाल र जिम्मेवारी प्रस्ताव गरिएको मुलकबीच द्विपक्षीय सम्बन्ध, व्यापार, पर्यटन, वैदेशिक लगानी र सहयोगका सम्भावित क्षेत्रबारे समितिलाई जानकारी गराए ।

त्यस अवसरमा इजरायका लागि प्रस्तावित राजदूत डा पण्डितले इजरायलको स्थापनादेखि नै मध्यपूर्वमा देखिएको राजनीतिक समस्याको न्यायपूर्ण, दीगो र शान्तिपूर्ण समाधानका सम्बन्धमा नेपालले स्पष्ट धारणा राख्दै आएको बताए ।

उनले भने , “नेपाल र इजरायलबीच राजनीतिक, आर्थिक, शैक्षिक, सांस्कृतिक र जनस्तरका सम्बन्ध सुदृढ हुँदै गएको छ । परिणामस्वरुप पर्यटन, वाणिज्य तथा व्यापार प्रवर्द्धनमा सहयोग पुग्दैआएको छ ।”

मलेसियाका लागि प्रस्तावित राजदूत डा तिमिल्सिनाले नेपाल र मलेसिया संयुक्त राष्ट्रसङ्घका सदस्य र असङ्लग्न आन्दोलनका सहयात्री भएकाले दुवै देशले राष्ट्रसङ्घको बडापत्रलाई आधारभूत सिद्धान्तकारूपमा मान्यता दिएकाले एक अर्कालाई सम्मान गर्दै दुवै देशका जनताको शताब्दी लामो जनस्तरको सम्पर्क र सम्बन्धले द्विपक्षीय सम्बन्ध अझै प्रगाढ तुल्याउन मद्दत गरेको बताए ।

उनले भने, “अघिल्लो शताब्दीमा बाह्य र आन्तरिक द्वन्द्वमा गोर्खा सिपाहीले मलेसियाको पक्षमा लडेको त्यहाँका जनताको स्मरणमा ताजै छ । त्यही युद्ध लड्ने पुस्ताका सन्तती मलेसियामै नागरिक भइ बसोबास गर्ने नेपाली समुदायको सङ्ख्या ठूलो छ । नेपालमा मलेसियन पर्यटक भित्र्याउन ठूलो सम्भावना छ ।”

पाकिस्तानका लागि प्रस्तावित राजदूत धितालले निकट छिमेकी राष्ट्रका हैसियतले नेपालको राजनीतिक, आर्थिक तथा सामाजिक र सांस्कृतिक विकासमा पाकिस्तानको सदैव सद्भाव रही आएको बताए ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १८:५३
प्रतिक्रिया दिनुहोस्