Nic Ad Nic Ad
Nic Ad Nic Ad
संश्लेषण

कांग्रेसले पारित गरेको प्रस्ताव प्रचण्डले खेल्ने दाउपेचका लागि ‘ब्रेक’, ‘रिभर्स’ हुन असम्भवप्रायः

मंगलबार, भदौ १८, २०८१

काठमाडौं– नेकपा एमालेसँगको समीकरणमा पुगेपछि तत्कालिन प्रधानमन्त्री हालका प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सदनमा विश्वासको मत लिने क्रममा कांग्रेसको आन्तरिक बैठकलाई कारण देखाए। 

केन्द्रीय समिति र महासमितिमा महामन्त्री गगन थापाले प्रस्ताव गरेको आगामी चुनाव ‘गठबन्धन नगरी लड्ने’ प्रस्तावप्रति संकेत गर्दै प्रचण्डले कांग्रेसमाथि धावा बोली एमालेसँगको समीकरणमा पुगेको दाबी गरेका थिए।

कांग्रेस र एमालेको समीकरण बनी प्रधानमन्त्रीमा केपी शर्मा ओली आएपछि माओवादी र प्रचण्डमा एक प्रकारको छटपटी रहेको पाइन्छ। उनी परोक्ष रुपमा यो गठबन्धन भत्काएर कांग्रेससँग समीकरण बनाउने दाउपेचमा नभएका होइनन्। तर, कांग्रेसको केन्द्रीय समिति बैठकले हालै मात्र पारित गरेको एउटा प्रस्ताव प्रचण्डको खेलका निम्ति ब्रेक लागेको प्रतीत हुन्छ भने, कांग्रेस रिभर्समा जाने सम्भावना समेत टरेको जस्तो देखिन्छ। 

महामन्त्री थापाले राखेको ०८४ को निर्वाचनमा गठबन्धन नगर्ने भन्ने प्रस्ताव विचाराधिन थियो तर हालैको केन्द्रीय समितिले सर्वसम्मतीले पारित गरेपछि आगामी निर्वाचनमा माओवादीले गठबन्धन गर्ने भन्ने सहमति गर्न नपाउने स्थिति बन्यो। यसले प्रचण्डले खेल्ने दाउपेचमा तत्कालका लागि ब्रेक लागेको बताइन्छ। 

‘कांग्रेसले एक पटक कुनै दलसँग सहमति गरेपछि धोका दिने बानी छैन। तैपनि तत्काल कांग्रेसलाई सरकार प्रमुखको जिम्मेवारी दिएर गठबन्धनमा खेल्छु भन्ने माओवादीलाई एजेन्डाविहिन बन्नेगरी केन्द्रीय समितिले निर्णय गरेको छ’, कांग्रेस उच्च स्रोतले भन्यो,‘माओवादीको धोकाधडीको परिणाम यहि नै हो।’

यसअघि प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सहयोग गरेर एमाले अध्यक्ष ओलीलाई सत्ताच्युत गरेका थिए। त्यसबेला उनले गठबन्धनीय संस्कृतिको उदय गराई निर्वाचनमा पुगेका थिए। 

‘नेकपा विभाजनका बेला जस्तै अहिले पनि प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई पूरा कार्यकाल दिनेगरी गठबन्धन गरी जाऔं भन्ने प्रस्ताव अघोषित रुपमा नआएका होइनन्। तर अब त्यो सम्भावना टरिसकेको जस्तो लाग्छ’, कांग्रेसका एक नेता भन्छन्,‘अगाडिको गति कसरी जान्छ अब त्यो हेर्न बाँकी छ।’

नेपालको सत्ता राजनीतिमा हावी हुने भारतीय संस्थापन पक्ष ओली नेतृत्वको सरकारको विषयमा त्यति खुशी नभएको संकेत मिलेको छ। औपचारिक रुपमा बधाई दिइए पनि भारतीय संस्थापन भाजपा ओलीलाई चिनपरस्त नेताका रुपमा बुझ्छ। यसकारण नेपालको सत्ता राजनीतिको मुख्य स्थानमा ओलीको नेतृत्वलाई उसले सर्वस्वीकार्य नमानेका कारण भारतको औपचारिक भ्रमणको चाँजोपाँजो समेत मिलाएको छैन। 

‘परराष्ट्रमन्त्री आरजु राणालाई नै प्रधानमन्त्रीसरहको सम्मान दिनुको कुटनीतिक अर्थ छ। उसले प्रधानमन्त्री ओलीलाई सांकेतिक रुपमा दिएको सन्देश पनि हुन सक्छ’, राजनीतिक विश्लेषकहरू भन्छन्,‘त्यत्रो भ्रमणमा प्रधानमन्त्रीको औपचारिक भ्रमणको निम्तो र मितिको पेरीफेरी समेत भारतले नदिनुलाई हेक्का राख्न जरुरी छ।’

भारतले यसरी नेपालका प्रधानमन्त्रीलाई चिन परस्त रहेको ठानेर निम्तो नदिएको वा नबोलाएको घटना पनि छन्। तत्कालिन प्रधानमन्त्री झलनाथ खनालको ६ महिने कार्यकाल भारत भ्रमण बिना नै बितेको थियो। उनलाई भारतले औपचारिक निम्तो दिएको थिएन। 

नेपालको राजनीतिमा भारतीय पक्षको भूमिकाको पनि प्रभाव रहनेमा दुईमत छैन। यद्यपि, नेपाली कांग्रेसको अहिलेको भूमिकाले प्रचण्डले पनि सत्ता परिवर्तन गर्न सक्छु भनेर मुख मिठ्याउने स्थिति नरहेको देखिन्छ। तथापी पार्टीको बैठकमा प्रचण्डले भनेका छन्,‘हामी चुनावसम्म सरकारतिर हेर्दैनौं। तर सरकार माओवादीलाई पछ्याउँदै आउन सक्छ।’
 

 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्