Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमबीबीएस प्रवेश परीक्षाको नतिजामा भएको त्रुटिबारे छानबिन गर्न संसदको माग

मंगलबार, भदौ १८, २०८१

काठमाडौँ- संंघीय संसद्का दुवै सदनमा चिकित्सा शिक्षा आयोगले एमबीबीएसको प्रवेश परीक्षाको परीक्षाफल प्रकाशनमा गरेको त्रुटि छानबिन गर्न माग गरेका छन् । प्रतिनिधि सभा र राष्ट्रिय सभामा सांसदहरूले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने काम भएको भन्दै आपत्ति जनाए ।

प्रतिनिधि सभामा माओवादी सांसद देवेन्द्र पौडेलले नतिजा प्रकाशनमा भएको त्रुटि गम्भीर लापर्बाही भएको बताए । त्यस्तै रास्वपाकी सुमना श्रेष्ठ र राप्रपाकी रोसन कार्कीले पनि आयोगले गम्भीर लापरबाही गरेको उल्लेख गर्दै संलग्नहरूमाथि छानबिन गरी आगामी दिनमा त्यस्ता त्रुटि नहुने वातावरण बनाउन आग्रह गरे ।राष्ट्रिय सभामा पनि मंगलबार सांसदहरूले बोल्दै नतिजामा व्यापक मात्रामा अनियमितता भएको विवरण सार्वजनिक भएकाले सत्यतथ्य छानबिन गर्न माग गरेका छन् । सांसदहरुले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नेलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद कृष्णप्रसाद पौडेलले चिकित्सक शिक्षा आयोगले प्रकाशित गरेको नतिजामा लापरबाही गरेको पाइएकाले सत्यतथ्य पत्ता लगाउन माग गरे । सांसदहरू गोमादेवी तिमिल्सिना, भुवनबहादुर सुनुवारले माध्यमिक शिक्षा परीक्षामा देखिएको विकृति पुनः चिकित्सा शिक्षासँग सम्बन्धित परीक्षामा पनि उस्तै अवस्था देखिएकाले दोषीमाथि कारबाही गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १६:००
प्रतिक्रिया दिनुहोस्