Nic Ad Nic Ad
Nic Ad Nic Ad

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउन खोज्दा घिसिङलाई हटाउने षड्यन्त्र भयो : अमनलाल मोदी

मंगलबार, भदौ १८, २०८१

काठमाडौँ- प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका सांसद अमनलाल मोदीले लोडसेडिङको समयमा डेडिकेटेड लाइन र ट्रंकलाइनबाट विद्युत् उपभोग गर्ने उद्योगीहरूबाट बक्यौता उठाउन खोज्दा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन राजनीतिक षड्यन्त्र भइरहेको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद मोदीले विगतमा पनि बक्यौता रकम उठाउन खोज्दा कार्यकारी निर्देशक घिसिङलाई हटाउने प्रयत्न भएको र अहिले पनि राजनीतिक नेतृत्वले हटाउने षड्यन्त्र गरिरहेको दाबी गरे ।‘राम्रो काम गर्दै गर्दा जनताको पक्षमा काम गर्दै गर्दा राष्ट्रको सम्पत्ति, राज्यको सम्पत्ति उठाउँदै गर्दा केही माफियाहरूले, केही राजनीतिक दलका संरक्षकहरूले उहाँमाथि ठूलो षड्यन्त्र गरिरहेका छन्, ‘उनले भने, ‘सार्वजनिक लेखा समितिमा एकलौटी मैले प्रश्न गर्न खोजे संसद्मा अल्पमत र बहुमत हुन्छ, निर्णय सुनाउने सांसदले मताधिकार प्रयोग गरेपछि हो ।’

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले घिसिङविरुद्ध निर्देशन दिन खोजेको मोदीको भनाइ थियो ।

राज्यका निकायमा राम्रो काम गर्नेहरूलाई पदबाट हटाएर आफ्ना मान्छेलाई नियुक्त गर्न षड्यन्त्र भइरहेको मोदीको भनाइ थियो । डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गर्नेहरूको बक्यौता २१ अर्ब ८८ करोड रुपैयाँ उठाउनुपर्छ भन्ने माओवादीको माग रहेको मोदीले बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १७:३५
प्रतिक्रिया दिनुहोस्