Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने योजना छ’

मंगलबार, भदौ १८, २०८१

खानेपानीमन्त्री प्रदीप यादवले उपत्यकामा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने योजना तीव्रगतिमा अगाडि बढिरहेको जानकारी दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले गरेको प्रश्नको उत्तर दिँदै उहाँले मेलम्चीको पानी बाह्रै महिना उपत्यकावासीको धारामा ल्याउने गरी काम भइरहेको जानकारी दिए ।

मन्त्री यादवले राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति, २०८० अनुसार नेपाल सरकारले विक्रम सम्वत् २१०० सम्म सम्पूर्ण नेपाली नागरिकलाई सुरक्षित खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने लक्ष्य लिएको जानकारी गराए । उनले मन्त्रालयको अल्पकालीन र मध्यकालीन योजनामा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा उपलब्ध गराउने योजना प्रमुख रहेको बताए ।

“मनसुन सक्रिय हुन छाडेपछि वैकल्पिक पथान्तरण सुरुङको मर्मत सम्पन्न गरी असोज महिनाभित्र मेलम्चीको पानी काठमाडौँ उपत्यकामा उपलब्ध गराइनेछ,” मन्त्री यादवले भने, “मेलम्चीको पानी नियमित आपूर्ति नहुँदा बागमती तथा धाप ड्यामको पानी सुन्दरीजल प्रशोधन केन्द्रमार्फत प्रशोधन गरी आपूर्ति भइरहेको छ ।”

तराई मधेस क्षेत्रमा डिपबोरिङ्गका आयोजना सञ्चालन गरी स्वच्छ खानेपानी सेवा उपलब्ध भइरहेको बताउँदै मन्त्री यादवले यसलाई थप विस्तार गर्दै लगिने जानकारी गराउनुभयो । “अधुरा तथा निर्माणाधीन आयोजना समयमा नै सम्पन्न गरी सेवा उपलब्ध गराइने योजना रहेको छ,” उनले भने ।

“खानेपानी तथा सरसफाइ सेवा नागरिकको पहुँचसम्म पु¥याउने सरकारको प्राथमिकता नेपाल संविधानमा तीन तहको सरकारको साझा अधिकारको सूचीमा समावेश गरिएको छ,” सभालाई सम्बोधन गदै मन्त्री यादवले भने, “हालसम्मको प्रगतिअनुसार, आर्थिक वर्ष २०७९र८० सम्म ९४।९३ प्रतिशत जनसङ्ख्यामा आधारभूत स्तरको खानेपानी सेवा पुर्‍याइएको छ भने सत प्रतिशत जनसङ्ख्यामा आधारभूतस्तरको सरसफाइ सुविधा उपलब्ध गराइएको छ । यसका साथै, २५।८१ प्रतिशत जनतामा उच्च तथा मध्यमस्तरको खानेपानीमा पहुँच पुर्‍याइएको छ ।”

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १९:४५
प्रतिक्रिया दिनुहोस्