Nic Ad Nic Ad
Nic Ad Nic Ad

यौन आचरणको कारबाही नहुँदा विकृति बढेको एमालेको निष्कर्ष

मंगलबार, भदौ १८, २०८१

काठमाडौँ - नेकपा एमालेको पोलिटब्यूरो बैठकमा महासचिव शंकर पोखरेलले वार्षिक कार्ययोजना प्रस्तुत गरेका छन् ।

मंगलबार पोखरेलले पेश गरेको २३ पृष्ठ लामो वार्षिक कार्ययोजना मूलतः संगठनात्मक विषयमा केन्द्रित छ । केन्द्रीय कार्यालयमा तयार भएर सचिवालयले अनुमोदन गरेको कार्ययोजना पोलिट्ब्यूरो हुँदै केन्द्रीय कमिटीबाट पारित हुनेछ ।

पोलिट्ब्यूरो सदस्यहरूलाई अध्ययनका निम्ति दिइएको प्रस्तावित कार्ययोजनामा पार्टी सदस्यता नवीकरण, वितरण जस्ता संगठन निर्माणदेखि आर्थिक तथा नैतिक आचरणसम्मका विषय समेटिएका छन् ।

जसमध्ये नेताहरूको आचरण शुद्धीकरणलाई पनि प्राथमिकतामा राखिएको छ । कम्युनिष्ट पार्टीमा बद्ध हुने सदस्यहरूको जीवनशैली, आचरण र व्यवहार महत्त्वपूर्ण हुने भएकाले यो प्रस्तावलाई महत्त्व दिइएको महासचिव पोखरेलले उल्लेख गरेका छन् ।

नेताहरूको आचरण शुद्धीकरणको प्रस्तावलाई छुट्टै शीर्षकमै छलफल गरिएको छ । ‘पार्टी जीवनको शुद्धीकरण’ शीर्षकमा महासचिव पोखरेलले सरल र नैतिक नेता-कार्यकर्ताको प्रस्ताव गरेका छन् ।

‘जनताले उचित नठान्ने काम कारबाहीबाट हामीहरू जोगिनुपर्छ । आफूलाई अरु भन्दा विशेष ठान्ने र आफ्ना लागि विशेष व्यवस्थाको अपेक्षा गर्ने प्रवृत्ति देखा परेको छ’, प्रस्तावमा भनिएको छ, ‘आर्थिक आचरण र यौन आचरणमा कानुनी र नैतिक बन्धन तोड्न खोज्ने विकृति हुर्किँदै छन् ।’

यस्ता विकृतिलाई रोक्न कारबाहीको विषय बनाइनुपर्ने प्रतिवेदनमा भनिएको छ । ‘हामीले आर्थिक–सामाजिक क्रियाकलाप, यौन आचरण र नैतिक दृष्टिले गल्ती गर्नेहरूका सन्दर्भमा सम्बन्धित कमिटीमा छलफलको कार्यसूची र कारबाहीको विषय नबनाउँदा त्यस्तो प्रवृत्ति प्रोत्साहित हुन पुगेको छ’, महासचिवको प्रस्तावमा लेखिएको छ ।

तर सरल जीवनशैलीलाई बढवा दिने, कानुन तथा सामाजिक नैतिकताको सीमामा बस्ने संस्कृति निर्माणमा जोड दिइएको छ । नेताहरूको आचरणको चिन्ता यसअघि पनि गरिएको थियो ।

गत फागुन पहिलो साता सम्पन्न केन्द्रीय समिति बैठकमा पनि नेताहरूको आचरणको विषय उठेको थियो । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले अलगअलग प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तर तीनै जनाको प्रतिवेदनमा नेताहरूको आचरणमा शुद्धीकरणको विषय उठेको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  २१:३८
प्रतिक्रिया दिनुहोस्