Nic Ad Nic Ad
Nic Ad Nic Ad
टिप्पणी 

एउटा मेयर बालेनले डंका पिटाइ दिएको केन्द्रीय सत्ता राजनीति, श्वेत बिद्रोह सम्भव छ

बुधबार, भदौ १९, २०८१

काठमाडौं– आजको विश्व क्रान्ति या युद्ध भनेकै साइबर हो भन्नेमा महाशक्तिहरू नै स्वीकारोक्तिको स्थितिमा छन्। क्रान्ति, विद्रोह वा सत्ता परिवर्तनको जग असामान्य हिसाबले नै एउटा विन्दुमा केन्द्रीत हुने स्थिति छ।

सत्ता धुर्त र घमन्ड अनि अहंकारको घेराबन्दीभित्रको कुहिरोमा बसेपछि धेरै नसोचिएका श्वेत बिद्रोह हुन्छन्। हिजो राजाका आसेपासेका गलत सल्लाहका कारणले राजतन्त्रको बहिर्गमन भयो, त्यो प्रमुख कारण थियो। माओवादी भन्ने शक्ति एउटै झुन्ड हरेक ठाउँमा बम पड्काउँछ भन्ने खालका अभिव्यक्ति सुनिएकै हो। यहि प्रकृतिको एउटा झुन्ड अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको वरिपरि चाकरीमा घुमिरहेको छ। 

त्यो घेराबन्दीभित्र रहेका ओली त्यसलाई नै सत्य मान्न विवश छन्। तर, सतहको तथ्य अलग छ। यहाँसम्मकी एउटा झुन्ड अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पोल लगाउन सत्ता गठबन्धनका अर्का नेता शेरबहादुर देउवाको निवासको वरिपरि पनि पुगिसकेका छन्। 

समय प्रतिकूल छ। देशले आर्थिक क्रान्ति र विद्रोहका निम्ति एउटा नेताको खोजी गरिरहेको छ। प्रधानमन्त्री ओलीको सामाजिक सञ्जालको पेजमा अनफलो गर्नेको लहड कसैले चलाएको अभियान होइन, यो त एमालेका साइबर ब्वाँसाले गरेको बालेन शाहको स्ट्याटसमाथिको आक्रमणको प्रत्याक्रमण हो। 

यो, सञ्जालमा मात्र सीमित नहुन सक्छ। यसले एउटा अश्वेत शक्तिले केन्द्रीय सत्ताका आडमा अमुक महानगर प्रमुख र उनका समर्थकमाथि देखाएको दुराग्रहको दुखान्त समेत सहन गर्नुपर्ने स्थिति पुनर्जागरित गर्न सक्छ भन्ने स्पष्ट हुँदैछ। 

दशकअघि जब सामाजिक सञ्जालको ब्यापक प्रयोग चलिरहेको थियो, त्यसबेला मध्यपूर्वका राम्रा भनिएका सत्ताहरू पनि भटाभट ढलिरहेको आन्दोलनको झिल्कोको प्रस्थानविन्दुबारे चर्चा गरौं। लोकतान्त्रिक भएर मात्र हुन्न, कल्याणकारी भएर मात्र पनि नहुने रहेछ। आन्दोलनको झिल्को बहुत भयानक हुन्छ, बस त्यसले डढेलोको बाटो खोजीरहेको न हुन्छ। 

सर्वप्रथम ट्युनिसियाको त्यो प्रस्थानविन्दुको चर्चा गर्छु। 

थोरै मानिसका हातमा असाध्य धेरै धन थुप्रने र धेरैका हात रित्तो हुने प्रक्रियाले एउटा साधारण लाग्ने घटना ट्युनिसियामा घट्यो। कलेज ग्य्राजुएट मोहम्मद बोबाजीजी नामको व्यक्ति राजधानी टिउनिसभन्दा धेरै टाढाको एउटा सानो सहर सिदीबौजिदको एउटा चोकमा ठेलागाडामा तरकारी बेचिरहेको थियो। प्रहरी आयो, चोकमा तरकारी बेचेको निहुँमा उसको ठेला भत्काइयो र उसलाई थानामा थुनियो र भोलिपल्ट उसको गोजीमा रहेको पैसा थुतेर छोडियो। 

शैक्षिक बेरोजगार मोहम्मद बौबाजीजीले आफ्नो परिवार पाल्ने एक मात्र साधन ठेला र तरकारी नोक्सान भएकाले मात्र होइन, आफूलाई सामान्य पेसासम्म अपनाउन नदिएर आत्मसम्मानमा चोट पुगेको ठान्दै आफू समातिएको त्यही चोकमा आएर आत्मदाह गरिदिए। 

शैक्षिक बेरोजगारको धनी ट्युनिसियामा अन्य सानाठूला सबै सहरमा आगोको लप्काझैँ फैलियो र बिस्तारै सरकारविरोधी नाराहरू घन्किन थाले।
विकिलिक्सले अमेरिकी राजदूतावासले पठाएको प्रतिवेदन सार्वजनिक गर्दा ट्युनिसियाली सरकार राष्ट्रपतिको परिवार तथा तिनका आसेपासेले सरकारी शक्तिको दुरुपयोग गरेर कमाएको सम्पत्तिको विवरण वेभसाइडमार्फत् छ्यापछ्याप्ती पारेपछि आगोमा घिउ थपिएझैं भयो। 

ट्युनिसियाको मध्य भागमा प्रदर्शन सुरु भयो, एक दर्जन मानिस मारिए। यो घटनाको उपक्रममा संसद र सरकार विघटन भयो। घटना यति धेरै चाँडोचाँडो घटे कि कसैले अब के होला र के गर्नु पर्ला भनेर चेत पाउन सकेनन्। यो विद्रोह कुनै दल विशेषले, योजनाबद्ध ढंगले गरेका थिएनन्। त्यसैले नेतृत्वको ठूलो संकट देखिएको थियो। बेन अलीको प्रधानमन्त्री रहेका मोहम्मद घानुउचीले संकटकाल लगाएर आफूलाई कार्यकारी राष्ट्रपति घोषणा गरे पनि उनी २४ घन्टा टिकेनन्। ट्युनिसिया एउटा डरलाग्दो श्वेत बिद्रोहमा जकडियो। 

यो आगो ट्युनिसियामा मात्र सीमित रहेन। यसले त इजिप्टलगायतका धेरै मध्यपूर्वका मुलुकमा डढेलो लगाएर सत्ता भटाभट ढल्ने क्रम सुरु भयो। नेपालमा यहि हुन्छ भन्ने अवस्था नआएको राम्रो तर झिल्कोलाई डढेलो बनाउने काम भयो भने के थाहा बंगलादेशको पछिल्लो र ताजा उदाहरणबारे चर्चा गर्न बाध्यकारी बनिएला कि? 

नेपालमा पनि शैक्षिक बेरोजगारको संख्या कम छैन। परम्परागत राजनीतिक दल र सत्ता राजनीतिसँग फ्रस्टेट भई आशाको दियो देखिरहेका बालेनका समर्थक कोही दलीय होइनन्, आम युवा हुन् भन्नेमा दुईमत रहेन।

आम मानिसको ताकतलाई नजरअन्दाज नगरियोस्। जसरी बंगलादेशमा शासन सत्ता चलाएकी शेख हसिनाको पार्टीका युवा र विद्यार्थी दस्ता थिएन होला र? कसरी भाग्ने स्थिति आयो? यसमा पनि विचरण गरिनुपर्छ।  

म विश्वस्त छु कि नेपालको सबैभन्दा ठूलो शक्ति यहाँका युवाको शक्ति हो, लाखौं युवा र उनीहरूका परिवारहरूको शक्ति। यदि तिनीहरूलाई परिचालन गर्न सकियो, युवालाई रोजगारी र व्यावसायसँग जोड्यौ भने पुरातन सत्ता अघोषित रुपमा ढल्नेछ र श्वेत बिद्रोह स्थापित हुनेछ, यसमा सन्देह राख्ने ठाउँ पनि छैन। 

अतः चरम भ्रष्टाचारका विषयमा राज्य सत्ताले ढाकछोप वा प्रतिवाद होइन त्यसको यथार्थलाई सतहमा ल्याएर असन्तुष्ट, फ्रस्टेड जनतालाई सन्तोष बनाउन आवश्यक हुनेछ। बालेन मेयर मात्र होइन, फ्रस्टेड मासले खोजिरहेको झिल्कोलाई सम्हाल्न सक्ने मुस्लोका रुपमा बुझिरहेका छन् भन्ने हेक्का हुनुपर्छ। अन्यथा लोकतन्त्र र गणतन्त्रका नाममा ठडिएको भ्रष्ट बिरासत ढल्नका लागि नेपालमा श्वेत बिद्रोह नहोला भन्न सकिन्न। समयमा नै कुनै सीमित घेरा, हुक्के, ढोके र चिलिमेको गफमा होइन सत्य र तथ्यको जगमा प्रधानमन्त्री ओलीले विचरण गर्दै स्टेप चाल्न सकुन्। अन्यथा अबेर हुन सक्छ।
 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्