Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु हो : गृह मन्त्री लेखक

बुधबार, भदौ १९, २०८१

कञ्चनपुर- गृह मन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताएका छन्।

महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन समारोहमा उनले प्रहरीको सुविधा सम्पन्न भवन निमार्णले नागरिकलाई सेवा प्रदान सहज हुने बताए। “अहिले प्रहरीले सीमित स्रोतसाधनमा काम गर्नुपरेको छ”, गृहमन्त्री लेखकले भने, “नवनिर्मित भवनले सेवा प्रवाहमा सहज हुनेछ ।” उनले नेपाल प्रहरीलाई समयानुकूल अनुसन्धानका लागिसमेत अब्बल बनाउनुपर्ने धारणा व्यक्त गरे । पछिल्लो समय साइबर अपराध बढिरहेकाले प्रहरीले परम्परागत अपराधबाहेक साइबर अपराधमा पनि अनुसन्धान गर्नुपरेको उनको भनाइ थियो ।

उनले संसद्मा भएका दुई ठुला दलबीच सहमति भएर नयाँ राजनीतिक समीकरण बनाएको बताए । “दुई दलबीच सात बुँदे सहमति भएर सरकार निमार्ण भएको छ”, उनले भने, “काँग्रेस र एमाले मिलेर अन्तरिम संविधान बनायौँ सशत्र लाई शान्तिमा ल्यायौँ ।” 

उनले मुलुकमा दुई ठुला दल मिलेर ऐतिहासिक काम गरेको स्मरण गर्दै अहिले पनि संसद्का दुई ठुला दल मिलेर देशको विशिष्ट कार्यभार सम्हाल्न एक ठाउँमा उभिएको बताए। उनले एमाले र काङ्ग्रेसबिच भएको सात बुँदे सहमति कार्यान्वयनमा कुनै शंका नगर्नसमेत आग्रह गरे । 

उक्त समारोहमा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले सम्पूर्ण नागरिकले गुणस्तरीय सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले पूर्वाधार विकासमा जोड दिएको बताए । “नेपाल प्रहरीको मुख्य जिम्मेवारी अपराध अनुसन्धान भनेको सहज र सामान्य विषय होइन”, उनले भने, “यो प्रहरीको कार्य उपलब्ध पूर्वाधार कानुन र समाजको सहकार्यमा भर पर्दछ ।” 

उनले नवनिर्मित भवनले प्रदेश प्रहरीको अनुगमन र सुपरिवेक्षणमा सहज हुने विश्वास व्यक्त गरे । विसं २०७९ मंसिर २९ गते आशिस कन्ट्रक्सनसँग उक्त भवन निर्माण गर्न रु. १३ करोड २६ लाखमा ठेक्का सम्झौता भएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १२:३४
प्रतिक्रिया दिनुहोस्