ऐतिहासिक पदक जितेकी पलेसाले भनिन्-‘अब हामीसँग पनि एउटा ओलम्पिक मेडल छ’
काठमाडौँ- पेरिस पाराओलम्पिमा ऐतिहासिक पदक जितेर फर्किएकी पलेसा गोवर्द्धनले छोटो समयको तयारीका बाबजुद पनि पदक जित्दा गौरव लागेको बताएकी छन् । उनले यो आफ्नो मात्र सफलता नभई सिंगो देशको भएको बताइन् ।
आज काठमाडौँमा आयोजित सम्मान कार्यक्रममा पलेसाले भनिन्, ‘यो सफलता मेरो मात्र होइन । सबैको लागि हो । अब हामी गौरवका साथ भन्न सक्छौँ हामीसँग पनि एउटा ओलम्पिक मेडल छ ।’पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरूले ओलम्पिकमा जितेको पहिलो पदक हो ।
ऐतिहासिक सफलताको यो खुसीमा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा पलेसालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नै भव्य स्वागत गर्दै नगर परिक्रमा गराइएको थियो । उनको स्वागतमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसहित राखेपका पदाधिकारी र समर्थकहरू सहभागी थिए ।
स्वागत कार्यक्रममा पलेसाले आफूलाई एकदम खुसी लागिरहेको बताइन् । ‘म एकदम खुसी छु । मेरो यति धेरै हाइट हुन्छ भन्ने लागेको थिएन,’ उनले भनिन् ।
उनले ओलम्पिक पदकको लामो समयदेखिको प्रतीक्षा पूरा भएको बताइन् । नेपालका खेलाडीहरू पनि ओलम्पिकमा पदक जित्नलायक छन् भन्ने यो प्रमाण भएको उनले बताइन् । ‘सबैलाई नेपालले मेडल जित्दैन कि जस्तो लागेको थियो । तर मैले ल्याएँ’, उनले भनिन्, ‘सबै युवा तेक्वान्दो खेलाडीहरूले पनि देखिसक्नुभयो कि यो सम्भव छ ।’
पलेसाले यो सुरुवात मात्र भएको भन्दै अझै धेरै गर्न बाँकी रहेको बताइन् । ‘हामीलाई धेरै सुविधाहरू थिएन । अन्तिम समयमा एक महिना मात्र तालिम भयो,’ पलेसाले भनिन्, ‘यो सुरुवात मात्र हो । अझै अघि बढ्नु छ ।’